२०८३ जेष्ठ २१ गते बिहिवार

दाङसहित पश्चिम नेपालमा तिब्र गतिको हावाहुरी चल्ने अनुमान

दाङ । पश्चिम नेपालमा आज तिब्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा तिब्र गतिको हावाहुरी चल्ने जोखिम रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा, हिमपात र तीव्र गतिको हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणकाअनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन प्राधिकरणको आग्रह छ ।

प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू चुल्हो, ग्यास आदि बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस