दाङ । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलाम्मे हुँदा पूर्णरूपमा सडक अवरुद्ध भएको हो ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलाम्मे भई गाडी सडकमा फसेकाले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ । बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।



















