रोल्पा । रोल्पामा खरको थुप्रोमा खेल्ने क्रममा काठले लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शङ्करको बिहीबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो करिब ३ बजेतिर बालक आँगनमा थुपारेर राखिएको खरको थुप्रोमा हाम फालेर खेलिरहेका थिए । सोही क्रममा खरभित्र लुकेर रहेको काठको ठुटो अर्थात गोलियामा उनको पेट बज्रिन पुगेको थियो । काठमा ठोक्किँदा बालकको पेटमा गहिरो चोट लागेको थियो ।
घाइते बालकलाई ढिलो गरी उपचारका लागि राति पौने ९ बजे नेर्पा स्वास्थ्य चौकी, जुगार पुर्याइएको थियो । तर स्वास्थ्य चौकी पुर्याए लगत्तै डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए । बालकलाई बचाउन नसकेपछि परिवार शोकमा डुबेको छ ।















