दाङ । दाङसहित तराईका अधिकांश ठाउँमा अत्याधिक गर्मी बढेको छ भने तराई–मधेश क्षेत्रमा तातो हावा चल्न थालेको छ । अझै केही दिन तराई–मधेशमा गर्मी र तातो हावाको लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा ३८ डिग्री सेल्सियस आसपास तापक्रम मापन गरिएको छ । मौसमविद्का अनुसार अहिले वर्षा गराउने प्रणाली सक्रिय छैन । चर्को गर्मीसँगै तराईका केही ठाउँमा तातो हावा चलेपछि जनजीवन प्रभावित बन्न थालेको छ ।
विशेष गरी बालबालिका, वृद्ध वृद्धा, मजदुर र साना व्यवसायी यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीका बेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ खान, हल्का र खुला कपडा लगाउन तथा चर्को घाममा सकेसम्म खेतबारीको काम नगर्न आग्रह गरिएको छ । घरबाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न सल्लाह छ ।














