२०८३ जेष्ठ २८ गते बिहिवार

रोल्पामा ढुङ्गा लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते, चालक फरार

रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिकामा बिहीबार (आज) बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जना किशोर गम्भीर घाइते भएका छन् ।

रुन्टिगढी गाउँपालिका वडा नं. ३ जुरा स्थित सुर्पाल–जुरा भित्री कच्ची सडक खण्डमा बाटो मर्मतका लागि ढुङ्गा लोड गरेर जाँदै गरेको रा १ त १३८६ नम्बरको ट्याक्टर आज बिहान दुर्घटनामा परेको हो ।

ओरालो सडकमा गुडिरहेको ट्याक्टरको ब्रेक फेल भएर सडकबाट करिब ३० मिटर तल खसेको रोल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरमा सवार रुन्टिगढी गाउँपालिका वडा नं. ४ सुर्पाल बस्ने १६ वर्षीय यादव भण्डारी र सोही ठाउँका १६ वर्षीय उपेन्द्र शाही सेर्पाली गम्भीर घाइते हुनुभएको छ । प्रहरीका अनुसार दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था चिन्ताजनक रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट सुर्पालबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । घाइते दुवै जनालाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक रुन्टिगढी गाउँपालिका वडा नं. ४ सुर्पालका ३४ वर्षीय भिम बहादुर घर्ती सम्पर्कविहीन भएका छन् । फरार चालकको खोजी कार्य जारी रहेको र दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस