सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले विकास निर्माण र जनसरोकारका सवालमा सरकारी तथा गैरसरकारी निकायहरूसँग एकीकृत सहकार्य गर्ने गरी नयाँ अभ्यासको थालनी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको संयोजकतामा बसेको साझेदारी निकायहरूको बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट पूर्वको गहन छलफल गर्दै रणनीतिक योजनाहरू तय गरेको हो ।
बैठकले कपुरकोटको मुख्य पहिचानका रूपमा रहेको कृषि र वनस्पति क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरू गरेको छ । गाउँपालिका, वनस्पति अनुसन्धान केन्द्र र राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमको त्रिपक्षीय साझेदारीमा हरेक वर्ष जेठ महिनामा ‘रासायनिक विषादी न्यूनीकरण सप्ताह’ सञ्चालन गरिने भएको छ ।
यस्तै, माटोको गुणस्तर सुधार्न ‘ट्राइकोडर्मा’ (जैविक ढुसी) को विकास र विस्तारमा पनि गाउँपालिका र अदुवाबाली अनुसन्धान कार्यक्रमले सहकार्य गर्ने वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो ।
कपुरकोटको प्राकृतिक सम्पदाको अभिलेखीकरणका लागि गाउँपालिका र वनस्पति अनुसन्धान केन्द्रले ‘वायोडाइभरसिटी प्रोफाइल’ तयार पार्ने भएका छन् ।
जलवायु परिवर्तनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दलित विकास समाज नेपालको सहकार्यमा आगामी आर्थिक वर्षमा ’जलवायु अनुकूलन योजना’ तर्जुमा गरिने भएको छ ।
वन क्षेत्रको संरक्षण र आयआर्जनलाई जोड्न सामुदायिक वन उपभोक्ता महासंघ र सब–डिभिजन वन कार्यालयको समन्वयमा ’कोसेली घर’ सञ्चालन गर्ने निर्णय भएको छ । जसमा गाउँपालिकाले बीउ पूँजी लगानी गरी सार्वजनिक–निजी साझेदारी मोडेल अपनाउनेछ ।
स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन आइपिएस नेपालको आर्थिक सहयोगमा ‘यौन तथा प्रजनन स्वास्थ्य सबलीकरण’ कार्यक्रम कार्यान्वयन हुने भएको छ ।
यसका लागि दलित विकास समाज सल्यान र गाउँपालिकाबीच प्रारम्भिक साझेदारी गर्ने सहमति भएको छ । त्यस्तै, युवाहरूको हकहितका लागि चालु आर्थिक वर्षभित्रै ‘कपुरकोट गाउँपालिका युवा ऐन’ निर्माण गर्ने टुङ्गो लागेको छ ।
यस्तै गाउँपालिकाले रोजगारी सिर्जनामा पनि ठोस कदम चालेको छ । पालिकामा रहेको ’बेरोजगार बैंक’लाई अद्यावधिक गरी सबै सार्वजनिक निकायले आवश्यक ज्यालादारी जनशक्ति सोही बैंकबाटै माग गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
यस्तै, सामुदायिक वनहरूमा पशुपालन प्रवद्र्धनका लागि ‘अमरिसा खेती विस्तार’ र वनमाराबाट जैविक मल उत्पादन गर्ने नवीनतम् पाइलटिङ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विशेष समर्थन रहेको थियो । योजनाहरू कागजमा मात्र सीमित नहुन् भन्नका लागि प्रत्येक त्रैमासिकमा साझेदार निकायहरूबीच समन्वय बैठक बस्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताउनुभयो ।
बैठकमा विभिन्न शाखा प्रमुखहरू, राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमका प्रमुख, दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक र वन महासंघका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
एकीकृत सहकार्यले स्रोत र साधनको दोहोरोपन हटाउने मात्र नभई कपुरकोटको समग्र विकासमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिएको छ ।














