दाङ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ११३ रन बनाएर अलआउट भएको हो ।
नेपालका लागि सर्वाधिक सिता रानाले ३७ रन बनाउनुभयो । त्यस्तै रुविना क्षेत्रीले २४ रन बनाउनुभयो । पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको नेपाल लगातार दोस्रो जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् । महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘डी’ मा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ । यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् ।


















