दाङ। तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ । उपप्रमुख स्यानी चौधरीले आज २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय सार्वजनिक गर्नु भएको हो ।
उपमहानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, राजस्व बाँडफाँट, आन्तरिक स्रोत, विज्ञापन कर, घरजग्गा रजिष्ट्रेशन शुल्क तथा नगर विकास कोष ऋणलाई आयको प्रमुख स्रोतका रूपमा समेटेको छ ।
संघीय र प्रदेश सरकारका सशर्त, समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रम तथा योजनाका लागि पनि उल्लेख्य रकम विनियोजन गरिएको छ । नगर विकास कोष अन्तर्गतका योजनाका लागि २१ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
आन्तरिक स्रोतबाट ५४ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिष्ट्रेसनबाट २४ करोड आम्दानी हुने लक्ष्य लिइएको छ ।
सङ्घीय सरकारको समानीकरण अनुदान २८ करोड ७७ लाख, शसर्त अनुदान ६७ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, सङ्घीय विशेष अनुदान ८८ लाख र राजस्व बाँडफाँट सङ्घतर्फ २४ करोड नौ लाख ५७ हजार बिनियोजन गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट समानीमरण १ करोड ९८ लाख ९८ हजार, शसर्त अनुदान दुई करोड दुई लाख ५० हजार, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान २० लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड ४१ लाख ८६ हजार, सडक बोर्डबाट एक करोड बिनियोजन गरिएको छ ।
सार्वजनिक बजेटमध्ये चालुतर्फ १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ अर्थात् ४२.३५ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ अर्थात् १.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बहुवर्षीय योजनाहरूको भुक्तानी, सडक बोर्ड अन्तर्गत सञ्चालन हुने योजना, विषयगत शाखा तथा महाशाखाका कार्यक्रम, नगरस्तरीय गौरवका आयोजना तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि समेत बजेट व्यवस्था गरिएको छ ।
यसैगरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि विद्युतीय नगर बस सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रभित्र बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै नगरवासीलाई सुलभ, सुरक्षित तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको हो ।

विद्युतीय नगर बस सञ्चालनका लागि १ करोड बजेट विनियोजन गरिएको छ । यस्तै उपमहानगरले नगरको मुख्य बजार क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई मध्यनजर गर्दै आकाशे पुल (स्काइ वाक) निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उपमेयर स्यानी चौधरीले मुख्य बजार क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीको आवागमनलाई सुरक्षित बनाउन आकाशे पुल निर्माणको योजना अघि सारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आकाशे पुल निर्माणका लागि आगामी आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यस्तै तुलसीपुर-१६. स्थित औद्योगिक ग्रामको पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले स्वास्थ्य तर्फ भने नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । गर्भवती महिलाको पोषण अवस्थालाई सुधार गर्न सरकारी स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउन आउने आमाहरूलाई आगामी आर्थिक वर्षबाट लागु हुने गरी हरेक पटकको गर्भ जाँचमा एक क्यारेट अण्डा निःशुल्क उपलब्ध गराउने भएको छ ।

कार्यक्रमअनुसार पालिकाभित्रका हरेक वडाका गर्भवती महिलाले सरकारी स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भजाँच गराउन जाँदा प्रत्येक पटक निःशुल्क रूपमा एक क्यारेट अण्डा प्राप्त गर्नेछन् । कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै वडा नम्बर ६ मा तेस्रो अन्तर वडा स्तरीय रनिङ फुटबलका लागि १२ लाख सहित खेलकुद क्षेत्रका लागि १ करोड बजेट बिनियोजन गरिएको छ ।
विपत व्यवस्थापनतर्फ १ करोड, कृषितर्फ ३ करोड, महिला बालबालिका तथा सामाजिक विकासतर्फ ७५ लाख, सबै सामुदायिक विद्यालयमा एक विद्यालय एक कम्प्युटर कार्यक्रम सञ्चालनका लागि १५ लाख, मेयर स्वास्थ्य मुटु अभियान, नागरिक आरोग्य प्रवद्र्धन तथा पोषणतर्फ ४ करोड, तुलसीपुर बजारको सहरी सौन्दर्यताका लागि ५० लाख, मेट्रो अस्पताल स्तर उन्नति तथा विशेषज्ञ सहितको सेवा विस्तारका लागि १ करोड,पशु विकास सेवा क्षेत्रका लागि २ करोड बजेट बिनियोजन गरिएको छ ।
यस्तै मानव सेवा आश्रम भवन निर्माणका लागि ५० लाख, आधुनिक दमकल खरिदका लागि १ करोड, कृषि एम्बुलेन्सका लागि ६० लाख, स्मार्ट छोरी कार्यक्रमका लागि ५० लाख, अरनीको मैदान स्तर उन्नतिका लागि १ करोड, खानेपानी तथा सरसफाइका लागि लागि १ करोड, स्वास्थ्य पूर्वाधार निर्माणका लागि १ करोड र शिक्षा क्षेत्र पूर्वाधार निर्माणका लागि ३ करोड बजेट बिनियोजन गरिएको छ ।

















