२०८३ भाद्र ७ गते आइतवार

तुलसीपुरबाट क्यारेमबोर्ड खेलेर फर्किँदै गर्दा १९ वर्षीय युवकको अपहरण, ५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता


दाङ ।
तुलसीपुरमा साथीहरूसँग क्यारेमबोर्ड खेलेर घर फर्किँदै गरेका एक युवा अपहरणमा परेको भन्दै अदालतमा मुद्धा दर्ता भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोल निवासी १९ वर्षीय जीवन विकलाई तुलसीपुर–१० स्थित डिल्ली बजारको एकान्त ठाउँबाट अपहरण गरी अवाञ्छित नियन्त्रणमा राखिएको आरोपमा पाँच जना विरुद्ध जिल्ला अदालत दाङमा अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता भएको हो ।

घटना लगत्तै प्रहरीले चलाएको कारबाही र अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार अदालतमा अभियोग पत्र दर्ता गरिएको हो ।

अपहरण घटनामा संलग्न रहेको आरोपमा शान्तिनगर–५ घर भई हाल तुलसीपुर–६ शिखर कोलोनी बस्ने २२ वर्षीय सतिस श्रेष्ठ, तुलसीपुर–५ रानीजरुवा निवासी १९ वर्षीय विजय, घोराही–४ आँपखोली निवासी २१ वर्षीय चेतन बुढा मगर, तुलसीपुर–२ निवासी २० वर्षीय विपिन योगी र एक जना १८ वर्षीय नाबालिगलाई प्रतिवादी बनाइएको छ ।

प्रहरीले आरोपीहरूमध्ये सतिस श्रेष्ठ, विजय र नाबालिगलाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराएको छ भने फरार रहेका चेतन बुढा मगर र विपिन योगीको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सामान्य मनोरञ्जन स्थल वरपर हुने अवाञ्छित गतिविधि र युवा वर्ग नै अपहरण जस्ता गम्भीर अपराधमा संलग्न देखिनुले स्थानीयवासीलाई चिन्तित तुल्याएको छ । एकान्त ठाउँको फाइदा उठाउँदै भएका यस्ता घटनाले शान्ति सुरक्षामाथि प्रश्न उठाएको भन्दै स्थानीयले मनोरञ्जन स्थल तथा एकान्त क्षेत्रहरूमा प्रहरी गस्ती र सूक्ष्म निगरानी बढाउन माग गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस