दाङ। हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले कृषक सदस्यलाई लक्षित गर्दै नयाँ कार्यक्रम अघि सारेको छ । आर्थिक वर्ष २०८३/०८४को निति तथा कार्यक्रममा संस्थाले दूध उत्पादनलाई प्रोत्साहन गर्न भैँसी खरिद गर्ने कृषक सदस्यलाई नगद अनुदानसँगै ऋणको ब्याजमा समेत अनुदान दिने नीति अघि सारेको हो ।
सामुदायिक विकास कोषमार्फत सञ्चालन गरिने कार्यक्रमअन्तर्गत संस्थाबाट आबद्ध कृषक सदस्यले नयाँ भैँसी खरिद गरेमा प्रति भैँसी ५ हजार रुपैयाँ नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरिएको छ। साथै, भैँसी खरिदका लागि संस्थाबाट लिएको ऋणको ब्याजमा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था समेत प्रस्ताव गरिएको छ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीका अनुसार सदस्यको उत्पादनलाई प्रोत्साहन गर्दै उनीहरूले उत्पादन गरेको दूध संस्थामार्फत बजारीकरण गर्ने उद्देश्यले कार्यक्रम ल्याउन लागिएको हो ।
सदस्य किसानले यो सुविधा लिएर उत्पादित दुध संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच डेरी उद्योगमै विक्री गर्नुपर्ने छ । सदस्यले उत्पादन गर्ने र संस्थाले बजारीकरण गर्ने प्रकृतिका थप नयाँ व्यवसाय सञ्चालन गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
यो कार्यक्रमले कृषक सदस्यलाई पशुपालन तथा दूध उत्पादनतर्फ आकर्षित गर्नुका साथै सदस्यको आम्दानी वृद्धि र स्वरोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । संस्थाले सदस्यलाई उत्पादनसँग जोड्दै उत्पादित वस्तुको बजारीकरणमा समेत सहजीकरण गर्ने नीति लिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
दैलेखको गुराँसेमा साउन २९ गतेदेखि ३१ गतेसम्म सञ्चालित आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रममा उक्त कार्यक्रम प्रस्ताव गरिएको हो। कार्यशालाबाट तर्जुमा गरिएको नीति, कार्यक्रम तथा बजेट आगामी साधारणसभाबाट पारित गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।






















