दाङ। तुलसीपुरस्थित गोरखा सेकेन्डरी स्कुलमा ’फ्रेन्डसिप कराते च्याम्पियनसिप’ आयोजना गरिएको छ । शनिबार संचालित प्रतियोगितामा तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयहरूका विद्यार्थी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।
विद्यार्थीहरूबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव, अनुशासन र खेल कौशल अभिवृद्धि गर्ने उद्देश्यका प्रतियोगिताको आयोजना गरिएको हो ।
गोरखा माविका शैक्षिक संयोजक दुर्गा बहादुर केसीको अध्यक्षता तथा कराते लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक बलराज नेपाली प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालीले खेलकुदले विद्यार्थीको शारीरिक विकासका साथै आत्मरक्षा र आत्मबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उद्घाटन समारोहमा नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य पदमा चौधरीले पछिल्लो समय विद्यालयस्तरमै खेलकुद प्रतियोगिताहरूको आयोजना हुनु सकारात्मक रहेको र यसले उदयीमान प्रतिभाहरूलाई अगाडि बढाउन मद्दत पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण प्रतीक न्यौपानेले गर्नुभएको हो । प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।






















