२०८३ भाद्र २१ गते आइतवार

लुम्बिनीका बालबालिकाको सिकाइ उपलब्धि कमजोर


दाङ। लुम्बिनीमा बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखिएको छ । लुम्बिनी प्रदेशका ३२ स्थानीय तहका ३४ गणना क्षेत्रमा ६ सय ८० घरपरिवारमा गरेको अध्ययनले कक्षा ४ का बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखाएको छ ।

असर नेपालले ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई घरमै पुगेर सरल मौखिक परीक्षणमार्फत गणित र पठन सीपको मूल्याङ्कन गरिएको थियो । अध्ययनअनुसार कक्षा ४ का ५९ दशमलव ९१ प्रतिशत बालबालिकाले गणितमा ३६ दशमलव ८४ प्रतिशतले र भाषामा न्यूनतम दक्षता हासिल गरेका छन् ।

गणित र भाषामा दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने बालबालिकाको संख्या २९ दशमलव ३६ प्रतिशत मात्रै छ । राष्ट्रिय स्तरमा कक्षा ४ का बालबालिकामध्ये गणितमा ५४ दशमलव ८ प्रतिशत, भाषामा ३५ दशमलव १३ प्रतिशत र दुवै विषयमा २८ दशमलव ४ प्रतिशतले न्यूनतम दक्षता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनीको अवस्था राष्ट्रिय औसतभन्दा केही राम्रो देखिए पनि समग्र सिकाइ उपलब्धि सन्तोषजनक नरहेको अध्ययनले देखाएको छ । प्रतिवेदनले बालबालिकाको सिकाइ कमजोर हुनुमा प्रारम्भिक सिकाइमा हुने ढिलाइसँगै घरको सिकाइ वातावरण, पुस्तकको पहुँच, ग्रामीण तथा सहरी क्षेत्रको अन्तर र घरमा बोलिने भाषाले समेत प्रभाव पार्ने देखाएको छ ।

विद्यालयमा भर्ना हुनु मात्रै पर्याप्त नभएकाले कक्षा अनुसारको सिकाइ उपलब्धि नियमित रूपमा मापन गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले विद्यालय भर्ना दर बढ्दै गए पनि बालबालिकाको सिकाइ उपलब्धि कमजोर हुनु चुनौतीपूर्ण विषय भएको बताउनु भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस