२०८३ कार्तिक १९ गते बिहिवार

दाङका किसानले समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै


दाङ । धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च जुटाउनुपर्ने बाध्यताका कारण दाङका किसानले सरकारले तोकेको समर्थन मूल्यभन्दा सस्तोमा धान बिक्री गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । तर, स्थानीय व्यापारीले उक्त मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि ६०० रुपैयाँसम्म कम मूल्यमा धान खरिद गरिरहेका छन् ।

दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी किसान माइली चौधरीका अनुसार गाउँका किसानले प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले धान बिक्री गरिरहेका छन् । धान उत्पादन राम्रो भए पनि भण्डारण गर्ने ठाउँको अभाव र तिहारको खर्च जुटाउनुपर्ने भएकाले सस्तोमा बेच्नुपरेको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले चासो नदिँदा किसान सस्तो मूल्यमा धान बेच्न बाध्य भएको सोही गाउँका नवीन अधिकारीले बताउनुभयो । उहाँका अनुसार अर्नब चक्रवातका कारण मौसम प्रतिकूल हुने देखिएपछि धेरै किसानले बिहीबार रातभरि थ्रेसर लगाएर धान तयार गरी खेतबाटै प्रतिक्विन्टल तीन हजार १०० रुपैयाँका दरले व्यापारीलाई बिक्री गरेका छन् ।

वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको धान घाटा खाएर बेच्नुपरेको उहाँको गुनासो छ । अधिकांश मध्यम तथा निम्न आय भएका किसानले चाडपर्वको खर्च जुटाउन भर्खरै भित्र्याएको धान सस्तो मूल्यमा बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले धानको समर्थन मूल्य निर्धारण गरे पनि व्यापारीले आफूखुसी मूल्य कायम गर्दा किसान मर्कामा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा भने अहिलेसम्म नतोकिएको जानकारी दिनुभयो ।

केन्द्रबाट कोटा निर्धारण भएको पत्र प्राप्त भएपछि धान खरिद सुरु गरिने उहाँको भनाई छ । गत वर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको उल्लेख गर्दै उहाँले यस वर्ष पनि कोटा थोरै निर्धारण भए सबै पालिकामा पुगेर खरिद गर्न कठिन हुने बताउनुभयो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार दाङमा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती गरिएको छ ।

-फाइल तस्बिर

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस