दाङ । दाङको तुलसीपुरस्थित हिमाल एकेडेमीले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुर्व्यसनबाट विद्यार्थीलाई जोगाउन हिमाल एकेडेमीले सचेतना कार्यक्रम संचालन गरेको हो ।
विद्यार्थी उमेर सिकाइ, खोजी र भविष्य निर्माणको महत्वपूर्ण समय भएपनि यही उमेरमा गलत संगत, साथीभाइको दबाब, कौतुहलता र पर्याप्त जानकारीको अभावका कारण कतिपय विद्यार्थी लागुऔषध दुर्व्यसनको जोखिममा पर्न अवस्थालाई
मध्यनजर गरी लागुऔषध दुर्व्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको हो ।

विद्यालयको आयोजनामा बुधबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुर्व्यसनविरुद्धको अभियान, कानुनको कार्यान्वयन र सही पहिचान विषयक सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नार्कोनन लुम्बिनी प्रदेशका संयोजक वसन्त पुनले सहजीकरण गर्नुभएको थियो । उहाँले लागुऔषध दुर्व्यसनको वर्तमान अवस्था, यसको कारण र विद्यार्थीको शैक्षिक, सामाजिक तथा व्यक्तिगत जीवनमा पार्ने असरबारे जानकारी गराउनुभएको थियो ।
उहाँले विद्यार्थीहरू कसरी साथीभाइको प्रभाव, कौतुहलता तथा गलत संगतका कारण लागुऔषधको दुर्व्यसनमा फस्न सक्छन् भन्ने विषयमा स्पष्ट पार्दै यसको सुरुवाती अवस्थामै सही पहिचान र रोकथाम आवश्यक रहेको बताउनुभएको थियो ।
विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै जीवनमा आइपर्ने जोखिम पहिचान गर्न र गलत निर्णयबाट बच्न सक्ने बनाउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक भीमलाल मरासिनीले गर्नुभएको हो ।



























