दाङ । पश्चिम दाङमा रोकिराखेको अटोसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । तुलसीपुर–हापुरे सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–२ डाँडाचिसमा भएको सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बबई गाउँपालिका–६ पञ्चकुलेका ५८ वर्षीय हेमबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । हिजो बुधबार साँझ साढे ६ बजेतिर सडक छेउमा रोकिराखेको रा १ ह ३८७९ नम्बरको अटोमा सोही दिशातर्फ जाँदै गरेको रा ६ प ५७८७ नम्बरको मोटरसाइकल ठोक्किएर डाँगी सडकमा लड्नु भएको थियो ।
सोही क्रममा पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ च ६१३ नम्बरको पिकअप गाडीले उहाँलाई ठक्कर दिदा मोटरसाइकल चालक डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि अटो, अटो चालक, पिकअप गाडी र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























