२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा स्थलगतरुपमै व्यवसाय दर्ता तथा नवीकरण : एकै दिनमा साढे २ लाख बढी राजस्व संकलन


दाङ । दाङको तुलसीपुरमा व्यवसायीलाई सहजता प्रदान गर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले स्थलगतरुपमै व्यवसाय दर्ता तथा नवीकरण अभियान सुरु गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले व्यवसाय दर्ता नगरेका तथा नवीकरण गर्न बाँकी रहेका व्यवसायीलाई लक्षित गरी स्थलगत रूपमै सेवा दिन थालेको हो । अभियान अन्तर्गत बिहीबार तुलसीपुर बजारको ‘क’ लाइनका विभिन्न व्यवसायमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा ५२ वटा व्यवसायमा पुगेर व्यवसाय दर्ता तथा नवीकरणको अवस्था जाँच गरिएको थियो । सोही क्रममा एकै दिन २ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको बजार व्यवस्थापन शाखा प्रमुख राजु श्रेष्ठ, उद्योग शाखा प्रमुख गोपाल न्यौपाने तथा राजस्व शाखाका सहायक प्रशासन अधिकृत कुन्ता भण्डारीलगायतको टोलीले बजारमा पुगेर अनुगमन गरेको हो ।

उपमहानगरपालिकाले कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्दै व्यवसायीलाई उनीहरूकै व्यवसायस्थलमा पुगेर सेवा दिन थालेपछि व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियामा सहजता भएको छ ।

स्थलगत रूपमा सेवा प्रदान गर्दा व्यवसायीलाई समयको बचत हुनुका साथै दर्ता तथा नवीकरण प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन पनि सहज भएको बजार व्यवस्थापन शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

उद्योग व्यवसाय प्रवद्र्धन शाखा प्रमुख गोपाल न्यौपानेले कतिपय व्यवसायीलाई अन्य निकायमा दर्ता गरेपछि स्थानीय तहमा दर्ता गर्नुनपर्ने बुझाई रहेका कारण फिल्डमै पुग्दा सहजता भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा तीन महिनामा तुलसीपुर उपमहानगरपालिकामा १ हजार २ सय व्यवसाय दर्ता तथा नविकरण भएको बताउनुभयो ।

राजस्व शाखाका सहायक प्रशासन अधिकृत कुन्ता भण्डारीले करिब ८० प्रतिशत व्यवसाय दर्ता भएर नविकरण पनि भएको बताउनुभयो । उहाँले केहि व्यवसायमात्रै नविकरण हुन नसकेकोले फिल्डमै पुगेर नविकरण गरिएको बताउनुभयो ।

अनुगमनका क्रममा व्यवसायीहरूले कर तिर्ने दायित्वप्रति सकारात्मक धारणा राख्दै आफूहरूले तिरेको करको सही र पारदर्शी रूपमा सदुपयोग हुनुपर्ने माग गरेका छन् । उनीहरूले करबाट संकलित रकम बजार व्यवस्थापन, सरसफाइ, सडक, पूर्वाधार विकास तथा नागरिकलाई आवश्यक सेवा सुविधामा प्रभावकारी रूपमा खर्च गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

व्यवसायीका गुनासा र सुझावलाई सम्बोधन गर्दै करको सदुपयोग सुनिश्चित गर्न सकेमा करदाता र स्थानीय सरकारबीच विश्वासको वातावरण थप बलियो हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस