दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा जग्गाको कित्ताकाटसम्बन्धी प्रक्रिया सुचारु हुने भएको छ ।
भूमि प्रशासन कार्यालय तुलसीपुरले एक सूचना जारी गर्दै उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मका सबै वडाको जग्गा स्थानीय भू–उपयोग परिषद्को निर्णयअनुसार भू–उपयोग वर्गीकरण गरी स्वीकृत भएकाले कित्ताकाटसम्बन्धी कार्यमा सुचारु गरिने जनाएको हो ।
नेपाल सरकारको भू–उपयोग ऐन, २०७६, भू–उपयोग नियमावली, २०७९ (संशोधनसहित) तथा भू–उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१ बमोजिम जग्गाको वर्गीकरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जग्गाको कित्ताकाट आदेशमा कात्तिक १६ गतेदेखि सुचारु गरिनेछ । यससँगै तुलसीपुरका सबै वडामा जग्गाको भू–उपयोग वर्गीकरणअनुसार कित्ताकाटसम्बन्धी प्रक्रिया अघि बढ्ने भएको छ ।
भूमि प्रशासन कार्यालय तुलसीपुरका भूमि प्रशासन अधिकृत सुनिल नेपालीद्वारा हस्ताक्षरित सूचनामार्फत कित्ताकाटसम्बन्धी कार्य सुचारु गरिनेबारे जानकारी गराइएको छ ।



























