२०८३ कार्तिक १९ गते बिहिवार

दमकलविहीन पश्चिम दाङ : तुलसीपुरमा खरिदका लागि तेस्रो पटक टेन्डर आब्हान गर्ने तयारी


दाङ । पश्चिम दाङमा दमकल नहुँदा आगलागीजन्य विपद् व्यवस्थापनमा समस्या भएको छ । तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चार पालिकामा प्रयोग हुँदै आएको तुलसीपुरको दमकल गतवर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलाइएपछि पश्चिम दाङ एक वर्षदेखि दमकलविहीन बनेको हो ।

दमकल जलेको एक वर्ष बितिसक्दा पनि नयाँ दमकल खरिद हुन सकेको छैन । दमकल अभावमा आगलागीका घटनाबाट ठूलो क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । बुधबार राति मात्रै बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा आगलागी हुँदा तीनवटा पसलमा ठूलो क्षति भएको थियो ।

केही दिनअघि तुलसीपुरमा रहेको एक कबाड सङ्कलन केन्द्रमा आगलागी हुँदा एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो । यी पछिल्ला घटनामात्रै हुन् । तुलसीपुरमा यसअघि पनि आगलागीका कारण मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको थियो ।

तुलसीपुरमा गतवर्ष भदौ २४ गते दमकल जल्नुअघि नै आधुनिक प्रविधियुक्त दमकल खरिद प्रक्रिया अघि बढाइएको थियो । तर, एक वर्ष बितिसक्दा पनि खरिद प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन । आधुनिक दमकल खरिदका लागि तुलसीपुर उपमहानगरपालिकाले एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दमकल खरिदका लागि दुईपटक टेन्डर आह्वान गरिए पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खरिदका लागि बजेट व्यवस्थापन गरेर दुईपटक टेन्डर आह्वान गरिए पनि आवश्यक मापदण्ड पूरा गर्ने कम्पनी प्रतिस्पर्धामा आउन नसक्दा खरिद प्रक्रिया टुङ्गोमा पुग्न नसकेको बताउनुभयो ।

‘दमकल खरिदका लागि बजेटको व्यवस्थापन गरेर दुईपटक टेन्डर गरिसकेका छौँ, तर खरिद कम्पनीको आवश्यक मापदण्ड पुग्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘अब फेरि तिहारपछि टेन्डर गर्दैछौँ ।’

दुईपटक आह्वान गरिएको टेन्डरमा एक–एकवटा मात्रै कम्पनी प्रतिस्पर्धामा आएका थिए । खरिद नियमअनुसार कम्तीमा तीनवटा कम्पनी प्रतिस्पर्धामा आउनुपर्ने भए पनि पर्याप्त प्रतिस्पर्धा हुन नसकेको नगरप्रमुख खड्काले बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुरसहित पश्चिम दाङका चारवटै पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने विषयमा यसअघि छलफल गरेका थिए । छलफलमा पश्चिम दाङका अन्य तीन पालिकाले पनि सामूहिक रूपमा दमकल खरिद गर्ने प्रतिबद्धता जनाएका थिए । तर, लामो समयसम्म अन्य पालिकाले चासो नदेखाएपछि तुलसीपुर उपमहानगरपालिकाले एक्लै खरिद प्रक्रिया अघि बढाएको हो ।

‘हापुरेमा आगलागी भएपछि तुलसीपुरले दमकल खरिद किन गरेन भनेर सामाजिक सञ्जालमा प्रश्न पनि गरिएका छन्,’ नगरप्रमुख खड्काले भन्नुभयो, ‘बबई गाउँपालिका होस् वा अन्य पालिका, हामीले सहयोग गर्ने कुरा त छँदैछ । तर, अन्य ठाउँको कारणले हामीले किन्ने–नकिन्ने भन्ने हुँदैन ।’

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले दमकल खरिदका चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्न नसकिने बताउनुभयो । ‘बबई गाउँपालिकामा आगलागीजन्य घटना बढी हुन्छन् । त्यसकारण पनि हामीलाई दमकल आवश्यक छ । तर दमकल खरिद बजेट अभावका कारण गर्न सकिएको छैन् ।’ उहाँले भन्नुभयो–‘आगो नियन्त्रणका लागि पालिकाले करिब ८ लाखमा ट्यांकर खरिद गरेको छ, तर गत बुधबारको आगो नियन्त्रणमा केहि प्राविधिक कमजोरी भएको छ, बिग्रेको कुरा ड्राइभरले समयमा जानकारी नगराएको कारण समस्या भएको हो ।’ चार पालिकाले सामुहिक दमकल खरिदका लागि बबई गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन नगरिएको बताउनुभयो ।

दमकल खरिदमा निजी क्षेत्रको चासो
पश्चिम दाङका चारवटै पालिका दमकलविहीन भएपछि निजी क्षेत्रले पनि दमकल खरिदको विषयमा चासो देखाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देबहादुर केसीले संघले विगतदेखि नै दमकल खरिदको विषय उठाउँदै आएको बताउनुभयो ।

तुलसीपुरमा आगलागीजन्य विपद्बाट विगतमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष केसीले आधुनिक दमकल ल्याउन संघले स्थानीय सरकारसँग पहल गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार संघले विगतमा तुलसीपुरमा महोत्सव आयोजना गर्दा दमकल खरिदका लागि आर्थिक सहयोग गर्ने प्रस्तावसमेत गरेको थियो । दमकल खरिदमा सहयोग गर्न संघले अहिले पनि १० लाख रुपैयाँ कोषमै राखेको छ । तर, स्थानीय सरकारले चासो नदिँदा आधुनिक दमकल खरिद हुन नसकेको उहाँको भनाइ छ ।

गतवर्ष पुरानो दमकलसमेत जलेपछि अहिले आगलागी नियन्त्रणमा थप समस्या भएको कार्यवाहक अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले तुलसीपुर दमकलविहीन हुँदा आगामी दिनमा हुने आगलागीजन्य विपद्बाट ठूलो क्षति बेहोर्नुपर्ने जोखिम रहेको बताउनुभयो ।

गतवर्ष जेनजी आन्दोलनमा दमकल जलेपछि तुलसीपुरसहित पश्चिम दाङका चार पालिकाका प्रमुखहरूसँग भएको छलफलमा आफूले नयाँ दमकल खरिदको विषय उठाए पनि स्थानीय सरकारले चासो नदिएको उहाँको भनाइ छ ।

‘पटक–पटक दमकल खरिद अघि बढाएका छौँ भनिन्छ, तर खरिद हुन सक्दैन । मैले यसबारेमा कहाँनेर समस्या हो भनेर पनि सोधिरहेको छु,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले सक्दैन भने दमकल खरिदमा निजी क्षेत्रले आवश्यक सहजीकरण गरिदिन सक्छ ।’

स्थानीय सरकारका प्रमुखले आफू चढ्ने गाडी छिटो खरिद गर्न सक्ने तर दमकल खरिद गर्न किन नसक्ने भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

तुलसीपुरमात्रै नभई पश्चिम दाङका अन्य पालिकाले पनि दमकल खरिदमा चासो नदेखाएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । ‘तुलसीपुरले मात्रै नभएर अरुले पनि दमकल खरिद गर्न सक्छन्‌?’ उहाँले भन्नुभयो ‘ तुलसीपुरमा पनि १५ महिनासम्म दमकल खरिद हुन नसक्नुमा कसको कमजोरी होला ?’

यसैगरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले दमकल जलेको एक वर्षसम्म पनि नयाँ दमकल नआउँदा निजी क्षेत्र हुन सक्ने आगलागीजन्य घटनाबाट त्रसित बनेको बताउनुभयो ।

दमकल नहुँदा आगलागीजन्य विपद्बाट निजी क्षेत्रले बढी क्षति बेहोर्नुपरेको उहाँको भनाइ छ । दमकल खरिदसँगै विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक नीति तथा व्यवस्था जतिसक्दो छिटो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस