दाङ। श्रम संस्कृति पार्टी नेपालले पहिलो स्थापना दिवसका अवसरमा तुलसीपुरमा सरसफाइ, रक्तदान तथा पार्टी सम्पर्क कार्यालय उद्घाटन लगायतका कार्यक्रम गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका नगर समितिको आयोजनामा स्थापना दिवसका अवसरमा आज बिहान तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय सेन्टरमा सरसफाइ गरिएको छ । यस्तै, दिउँसो रक्तसञ्चार केन्द्र तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
यसैगरी, तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । पार्टीकी केन्द्रीय सचिव शान्ति पाख्रिन लामाले कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले छोटो समयमा तुलसीपुर नगर समितिले रचनात्मक काम सम्पन्न गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा उत्साहजनक नतिजा ल्याउन पार्टीका सबै नेता तथा कार्यकर्ता निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचारका विरुद्धमा पार्टी दृढतापूर्वक उभिने बताउँदै उहाँले तुलसीपुरलाई भ्रष्टाचाररहित समाज निर्माण गर्ने अभियानमा सबैको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । रक्तदान गर्ने सबैलाई उहाँले धन्यवादसमेत दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहसचिव टोपबहादुर महतराले देश विकास र निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्न आग्रह गर्नुभयो । पार्टीका उपाध्यक्ष गणेशबहादुर घर्तीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव मानबहादुर घर्तीले सहजीकरण गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिका नगर समिति अध्यक्ष ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्थापना दिवसका अवसरमा आयोजित सरसफाइ, रक्तदान र सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी केन्द्रीय तथा स्थानीय श्रमदाता टोलीहरूलाई धन्यवाद दिनुभयो ।



























