२०८३ बैशाख ११ गते शुक्रवार

सडकमार्ग पहुँच सहज नहुँदा ओझेलमा ‘चमेरे गुफा’

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थल ‘सिद्द चमेरे गुफा’ कच्ची सडकका कारण ओझेलमा परेको छ ।

करिब साढे दुई दशकअघि पत्ता लागेको यो गुफा प्राकृतिक रूपमा अत्यन्तै मनोरम भए तापनि पूर्वाधार र सहज यातायातको अभावमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न नसकेको हो ।

तुलसीपुर बजारबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गुफासम्म पुग्न हर्नेटीदेखिको करिब ४ किलोमिटर सडक कच्ची र साँघुरो छ । वर्षात्को समयमा सवारी साधन चल्न नसक्ने र हिउँदमा पनि साना सवारीबाट झरेर करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यताका कारण पर्यटकहरू बीचैबाट फर्किने गरेका छन् ।

गुफा अवलोकनका लागि पुग्नुभएकी स्थानीय सरस्वती पुनले गुफा निकै सुन्दर भए पनि सडकको कठिनाइले थकान महसुस हुने गरेको बताउनुभयो । यस्तै, अर्की स्थानीय विमला शर्माले स्थानीय सरकारले गुफाको विकासमा ध्यान नदिँदा पर्यटकीय चहलपहल घट्दै गएको गुनासो गर्नुभयो ।

सिद्द चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनका अनुसार गुफाभित्र विभिन्न देवीदेवता र जनावरका प्राकृतिक आकृतिहरू देख्न सकिन्छ । विगतमा केही निकायको सहयोगमा सामान्य भौतिक संरचना बने पनि पछिल्ला वर्षहरूमा बजेट अभावका कारण पक्की सडक र अन्य पूर्वाधार निर्माण हुन सकेको छैन । हाल गुफामा दैनिक करिब ४० जना मात्रै पर्यटक पुग्ने गरेका छन् ।

उचित प्रचारप्रसार र सडकको स्तरोन्नति गर्न सके यस क्षेत्रले स्थानीयको आयआर्जन र रोजगारीमा ठूलो टेवा पुर्‍याउने विश्वास गरिएको छ । यस विषयमा तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाले भने बजेट अभावका कारण यस वर्ष सडक पक्की गर्ने योजना नरहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस