प्युठान । झिम्रुक नदीको छेउमै शान्त र सुन्दर देखिने एउटा बस्ती-प्युठानको ऐरावती गाउँपालिका–१ स्थित छेडेगाड गाउँ।
वरिपरि हरियाली सामुदायिक वन, फेदीमा करिब ३५ घरधुरी, र लामबद्ध रूपमा बसेको मगर समुदायको बसोबास।
बाहिरबाट हेर्दा रमणीय लाग्ने यो बस्ती यतिबेला भने पीडाको गहिरो घाउ बोकेर बसिरहेको छ।
यहाँका अधिकांश स्थानीयहरू जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुकमा जान बाध्य छन्। गाउँमा रहेका परिवारहरू पशुपालन, मौसमी खेतीपाती र सामान्य कृषिमै निर्भर छन्। तर बितेको एक महिनादेखि उनीहरूको जीवनमा शान्ति छैन् ।
चैत्र २१ गतेको त्यो कालो रातले सबै कुरा बदलिदियो। रातको साढे ११ बजेतिर अचानक गाउँमा आगलागी भयो। हेर्दाहेर्दै आगोले विकराल रूप लियो।
तीव्र हावाका कारण आगो एक घरबाट अर्को घरमा छिट्टै फैलियो। केही समयमै ८ वटा घर र १४ वटा गोठ पूर्ण रूपमा जलेर खरानी भए। गाउँभरि सन्नटा फैलियो।
यहि आगलागीमा पूर्णकला रजालीको आठ कोठाको बैँकले घर पनि पूर्ण रूपमा जलेर नष्ट भयो। संयोगवश त्यो बेला उनी घरमा थिइनन्। दुवै मिर्गौलामा समस्या देखिएपछि विगत सात वर्षदेखि डायलाइसिस गराउँदै आएकी पूर्णकला रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल नजिकै कोठा भाडामा लिएर श्रीमानसँग उपचारमा थिइन।
आगलागी भएकाे भाेलिपल्ट चैत्र २२ गते बिहान छोरीको फोन आयो-“आमा, हाम्रो घरगोठ सबै जलेर सखाप भयो।” यो खबर सुन्नासाथ पूर्णकला छाँगाबाट खसेझैँ भइन्। गहभरि आँसु भरियो।
उनी भन्छिन्, “हामीले त भोलिपल्ट मात्रै छोरीले फोन गरेपछि थाहा पायौँ, हाम्रो घरगाेठ जलेर खरानी भइसकेछ।”
घरमा फर्कँदा खाना बनाउन सहज होस् भनेर राखिएको ग्यास सिलिन्डर आगलागीका क्रममा पड्किँदा झन् ठूलो क्षति भएको रहेछ। एकातर्फ दीर्घरोगको पीडा, अर्कोतर्फ घर नै जलेर खरानी हुँदा उनी भन्छिन्-“अब के हुन्छ? घर त चाहियो नि…,” यति भन्दै उनका शब्द रोकिन्छन्।
साेहि घट्नामा ओमबहादुर रेश्मीका लागि पनि त्यो रात जीवनकै सबैभन्दा दुःखद क्षण बन्यो। खोरमा बाँधेका उनका ३९ वटा बाख्रा जलेर मरे। परिवारसँग आराम गरिरहेका बेला गाउँमा खैलाबैला मच्चिएको सुनेर बाहिर निस्किँदा आगोले सबै घेरेको थियो। “क्षणभरमै सबै सकियो,” उनी भन्छन्, “यो गाउँमा के श्राप लाग्यो यसअघि यस्ताे घटना कहिल्यै भएको थिएन ?” बाख्रापालन उनकाे मुख्य आम्दानीको स्रोत थियो।
साथै, उनी माहुरी पालन पनि गर्दै आएका थिए। प्रति केजी १,८०० रुपैयाँसम्म मह बेच्ने उनीसँग करिब १५ घार थिए, जसमध्ये ७ वटा घारसहित माहुरी पनि जलेर नष्ट भए।रेश्मीका मात्र होइन, अन्य स्थानीयका गोठमा बाँधिएका १ सय ८ वटा बाख्रा, ५ वटा गोरु र ४ वटा बङ्गुर पनि जलेर मरे।
आगलागीमा उनकाे सहित छिमेकीकाे घरमा राखिएको करिब ३ लाख ५० हजारभन्दा बढी नगद समेत जलेर नष्ट भयो। सबै भन्दा पहिले लक्ष्मण रानाको घरबाट आगो सल्किएको बताइन्छ। उनका गोठमा पनि १५ वटा बाख्रा र ४ वटा गोरु जलेर मरे। आगो देखेपछि परिवार चिच्याउँदै बाहिर निस्कियो, तर नियन्त्रण बाहिर गइसकेको थियाे ।
घटनापछि गाउँलेहरूले प्रहरीलाई खबर गरे। केही समयपछि दाङवाङबाट नेपाल प्रहरी र विजुवारबाट सशस्त्र प्रहरी घटनास्थलमा पुगे। स्थानीय र सुरक्षाकर्मी मिलेर नजिकैको झिम्रुक नदीबाट पानी बोकेर रातभरकाे अथक प्रयास गरेपछि भाेलिपल्ट बिहान ७ बजे मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आयो। आगलागीबाट करिब १ करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको ऐरावती गाउँपालिका–१ का वडाध्यक्ष अमरबहादुर रेश्मीले जानकारी दिनुभयो ।
घटनालगत्तै गाउँपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरेर राहत कार्यक्रम सुरु गरेको छ। नेपाल रेडक्रस सोसाइटीमार्फत पाल वितरण गरिएको छ भने पीडितहरूलाई बैंक खाता खोल्न आग्रह गरिएको छ।
तर, पहिलो चरणमा दिने भनिएको २५ हजार रुपैयाँ राहत रकम भने अहिलेसम्म पीडितको खातामा पुगेको छैन। “प्रक्रियामै छ,” भन्ने जवाफले उनीहरूले पाएकाे बताउँछन् । अहिले छेडेगाड गाउँमा जलेका घरको भग्नावशेष मात्र छैन—त्यहाँ सपना जलेका छन्, मेहनत जलेको छ, र भविष्यप्रतिको आशा नै खरानी बनेको छ। नदी बगिरहेकै छ, वन हरियाली नै छ, तर गाउँको मन भने अझै धुवाँले ढाकिएको छ।















