दाङ । दाङको तुलसीपुरस्थित डिभाइन टेम्पल एकेडेमीले प्रहरीको कार्यदक्षता र सकारात्मक सोच विकासमा सहयोग पुर्याउने उद्देश्यले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई पुस्तक प्रदान गरेको छ ।
एकेडेमीले सोमबार बिहान प्रहरी कार्यालयलाई विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गरेको हो । डिभाइन एजुकेशन फाउण्डेशनका सीईओ भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीलाई पुस्तकहरू हस्तान्तरण गर्नुभयो ।
सीईओ न्यौपानेले प्रहरी सेवा चौबिसै घण्टा तनावपूर्ण र चुनौतीपूर्ण रहने र यस्तो अवस्थामा साहित्य र सफल जीवनीको अध्ययनले प्रहरी कर्मचारीहरूमा मानसिक थकान कम गर्ने र रचनात्मक सोच विकास गर्न मद्दत पुग्ने बताउनुभयो । यस्तै हिरासतमा रहने थुनावालाई पुस्तक अध्ययनले सकारात्मक सोचको विकास गर्ने बताउनुभयो ।
हस्तान्तरण गरिएका पुस्तकहरूमा विश्वका सफल व्यक्तिहरूको जीवनकथा, उत्कृष्ट उपन्यास र साहित्यिक कृतिहरू समावेश छन् । सीईओ न्यौपानेले ज्ञान बाँड्दा बढ्ने मात्र नभई यसले समाजका हरेक अङ्गलाई मर्यादित बनाउन सघाउने बताउनुभयो ।
पुस्तक ग्रहण गर्दै डीएसपी होमबहादुर पराजुलीले शैक्षिक संस्थाको यो कदमप्रति आभार व्यक्त गर्नुभयो । प्रहरी कार्यालयभित्रै अध्ययनको संस्कृति विकास हुँदा प्रहरी अधिकारीहरूको निर्णय क्षमता थप प्रखर हुने र थुनुवामा पनि पठन संस्कृतिको विकास हुने उहाँले बताउनुभयो । विद्यालयका मावि संयोजक आकाश सिंहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण केसीले गर्नुभएको हो ।















