दाङ । हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुरीबतास र चट्याङसहित ठुलो वर्षा भएको छ ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताउनुभयो । विभागले हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।
मौसमविद् अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको छ । हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही स्थानमा करिब दुई घण्टासम्म यसको प्रभाव रहने छ ।
आज विशेष गरी भारी वर्षाको सम्भावना रहेको र साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ । यद्यपि, साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । नेपालको दक्षिणी भू–भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले मौसममा प्रभाव पारिरहेको विभागले उल्लेख गरेको छ । विभागका अनुसार दाङसहित देशका अधिकांश ठाउँमा अझै केही दिन पानी पर्ने छ ।















