२०८३ जेष्ठ २८ गते बिहिवार

थारु पत्रकार संघ दाङको छैठौँ जिल्ला अधिवेशन, अध्यक्षमा निता चौधरी चयन

दाङ । थारु पत्रकार संघ दाङको छैठौँ जिल्ला अधिवेशन आज विहीबार तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्थानी चौधरीले टिक्ने र विक्ने पत्रकार उत्पादन गर्नमा तुलसीपुर उपमहानगरपालिका कुनै कसर बाँकी नराखेर काम गरिरहेको बताउनु भएको छ ।

उहाँले पत्रकारलाई लामो समयसम्म आफ्नै पेसामा नितरन्र टिकाउनका लागि समयसमयमा क्षमता अभिवृद्धिदेखि आधारभूत पत्रकारिता पत्रकारिताका तालिमहरु संचालन गरेको बताउनुभयो । तालिमहरु संचालन जति गरेपनि यस क्षेत्रप्रति पछिल्लो समय आकर्षण कम भएकाले नयाँ पत्रकार उत्पादन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसैगरी उहाँले पत्रकारिता क्षेत्र मात्र नभइ अन्य क्षेत्रमा थारु समुदायका लागि काम गर्न चाहेपनि समस्या रहेको बताउनु भयो ।

अन्य समुदायको तुलनामा शिक्षाबाट केही पछि रहेको थारु समुदायको उपस्थिति राजनितिक, शैक्षिक लगायत हरेक क्षेत्रमा संख्यात्मक रुपमा बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले आफू पनि सामाजिक क्षेत्रबाट राजनितिक क्षेत्रमा प्रवेश गरि जनप्रतिनिधिको भूमिका निर्वाह गरिहँदा सबै कुरामा अव्वल र अनुभवी नरहे पनि काम गर्दै सिक्दै जाँदा गर्न सकिने बताउनु भयो ।

उहाँले जो व्यक्ति जुन क्षेत्र जुन पदमा रहेर काम गर्न सक्छु जस्तो आफूलाई लाग्छ त्यसमा अगाडि सर्न र काम गर्न सुझाव दिनुभयो । थारु समुदायको बाहुल्यता रहेको दाङमा थारु जनप्रतिनिधिको संख्यामा वृद्धि गर्नका लागि राजनितिक क्षेत्रमा सक्रिय भएर लाग्न उहाँको सुझाव थियो ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अथिति नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले एआईको समयमा परम्परागत पत्रकारितालाई परिमार्जन गरेर डिजिटल पत्रकारिता गर्न सुझाव दिनुभयो । उहाँले परम्परागत पत्रकारितालाई परिमार्जन गर्न नसक्दा यस पेशामा लामो समय टिक्न नसकेको अवस्था रहेको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, पूर्व जिल्ला अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघ नेपालका उपाध्यक्ष दिप्तीशिखा चौधरी, पूर्व केन्द्रिय अध्यक्ष सन्तोष दहित, कानुनी सल्लाहकार रामशरण चौधरी, सल्लाहकार लक्ष्मीमान चौधरी,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे लगायतले डिजिटल पत्रकारिता गर्नु पर्नेमा जोड दिएका थिए ।

भिडियो हेर्न र सुन्न रुचाउने नागरिकहरुको आकांक्षालार्ई परम्परागत पत्रकारिताले पूर्णता दिननसक्ने भएकाले पत्रकारहरुलाई डिजिटल पत्रकारिता गर्न सुझाव दिएका थिए । झनपछि झन थारु पत्रकारहरुको संख्या कम हुँदै गएको भन्दै संख्यात्मक रुपमा थारु पत्रकार उत्पादन गर्नतर्फ लाग्नु पर्ने बताएका थिए ।

थारु पत्रकार संघ दाङका जिल्ला अध्यक्ष नवीन चौधरीको अध्यक्षतामा भएको अधिवेशनमा स्वागत मन्तव्य कोषाध्यक्ष नवीन चौधरी र सहजिकरण उपाध्यक्ष निता चौधरीले गर्नुभएको थियो ।

यसैविच अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विहीबार तुलसीपुरमा भएको छैठौँ अधिवेशनले निता चौधरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको अध्यक्षमा निता चौधरी, वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरी चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी, कोषाध्यक्षमा आर एम जगत कुसुम्या, सदस्यहरुमा आशा चौधरी, वुद्धिविवस चौधरी, विष्णु कुसुम, निशाा चौधरी चयन भएको निर्वाचन समितिका संयोजक रामशरण चौधरीले जानकारी दिनुभयो । ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस