दाङ । दाङमा आजदेखि लुम्बिनी प्रदेशको विद्यालय तहकै सबैभन्दा ठूलो खेलकुद उत्सवको रूपमा रहेको १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले खेलाडीहरूको भूमिकालाई सिपाहीसँग तुलना गर्दै खेलकुदले देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा भएको यस प्रतियोगितामा प्रदेशका १२ जिल्लाबाट १ हजार ३ सय बढी खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न १५० जना दक्ष रेफ्रीहरू परिचालन गरिएको छ । एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराते र तेक्वान्दो गरी ६ वटा विधाका ३६ खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
एथलेटिक्सका प्रतिस्पर्धाहरू तुलसीपुरस्थित बेलझुण्डी रङ्गशालामा हुनेछन् भने उसु, कराते र भलिबल लगायतका खेलहरू घोराहीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताकै अवसरमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तिरणदाज गौतमले खेल क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको अभाव मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले प्रदेशमा स्तरीय कभर्डहल नहुँदा ठूला प्रतियोगिता सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।















