दाङ । दाङमा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका १६ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जेठ ८ गतेदेखि जेठ १५ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास गरी विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूबाट कुल २५ हजार ३०० रुपैयाँ जरिवाना असुल गर्ने प्रहरीले जनाएको छ । उनीहरूलाई कुल ३ वर्ष २ दिन कैद सजाय तोकिएको छ ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका सबै १६ जना प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पठाइएको छ । अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दाङ प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ ।
















