२०८३ असार २ गते मङ्गलवार

यस वर्षको मनसुन भित्रिन ढिलाइ : तराईमा तातो दिन सँगै गर्मी बढ्ने

दाङ । नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने भएको छ ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार विभागले विज्ञप्ति निकालेर भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको हो ।

विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकोले यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ ।

एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुनसमेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसुन ढिलो भित्रिएको तथ्याङ्क छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कहरू अनुसार जुनको अन्त्यसम्ममा पनि मनसुन भित्रिएका छन् ।

मनसुन ढिलो भए पनि नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव भने कायमै रहेकाले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ ।

यसैबिच अबका केही दिन तराईमा तातो दिन सँगै गर्मी बढ्ने भएको छ । भोलिसम्मै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस