दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि मौसममा बदली रहने अनुमान गरिएको छ । गर्मी बढीरहेका बेला पछिल्ला दिनमा वर्षा हुँदा शितलता भएको छ । आज पनि देशका विभिन्न ठाउँमा वर्षाको संभावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।
तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो । गएराति पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ ।
यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई छ ।
भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रने गर्छ ।
आज जुन १२ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रने मौसमविद्को अनुमान छ ।



















