दाङ । तुलसीपुर–६ गौलौरामा रहेको डिभाइन टेम्पल एकेडेमीले करिब ५० लाख लागतमा फुटसल कोर्ट निर्माण गरेको छ । विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जोड्नका लागि विद्यालयले फुटसल कोर्ट निर्माण गरेको हो ।
डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेले शिक्षासंगै विभिन्न खेलकुद गतिविधिमा जोड्ने प्रयास गरेको बताउनुभयो । उहाँले फुटबलसंगै भलिबल खेलमा पनि जोड्नका लागि जग्गाको व्यवस्थापन गरिएको बताउनुभयो ।
फुटसल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले खेलले सामुहिक एकतामा जोड दिने बताउनुभयो । विद्यार्थीलाई लगनशील भएर अध्ययनसंगै खेलक्षेत्रमा जोडिन उहाँले आग्रह गर्नुभयो ।
दाङ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्ली डाँगीले शैक्षिक संरचनामा खेलकुदका संरचना ठुला सहरमा देखिने गरेकोमा पछिल्लो समय तुलसीपुरमा पनि खेलकुदका संरचनामा लगानी बढ्दै गएको बताउनुभयो ।

दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार , लाइभ दाङका संचालक दिपक बोहरा, नेशनल प्याब्सन दाङका सचिव हरिप्रसाद भण्डारी लगायतले खेल क्षेत्रले समाज जोड्ने बताउनुभयो ।
डिभाइन टेम्पल एकेडेमीका सहायक प्रधानाध्याप महेश लामिछानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक पूर्ण केसी मुस्कानले गर्नुभएको हो ।
यसैबिच नेशनल प्याब्सन दाङको आयोजनामा डिभाइन टेम्पलको फुटसल कोर्टमा फूटसल प्रतियोगिता आजदेखि शुरु भएको छ । भोलिसम्म संचालन हुने प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध १० विद्यालयको सहभागीता रहेको छ ।

















