२०८३ साउन ६ गते बुधवार

फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखी क्वार्टरफाइनलको खेल सुरु हुने


दाङ । फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलका खेलहरू आज (बिहीबार) देखी सुरु हुँदैछन् । सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार मानिएका ८ बलिया टोलीहरू मैदानमा उत्रिँदै गर्दा विश्वभरका फुटबल समर्थकहरूको ध्यान अब यी रोमान्चक खेलहरूमा केन्द्रित भएको छ ।

पहिलो क्वार्टरफाइनलमा आज राति १ः४५ बजे फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन् । चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रोपटक फाइनल यात्रा तय गरेको थियो । मोरक्को यसपटक उक्त हारको बदला लिँदै सेमिफाइनलको यात्रा तय गर्ने दाउमा मैदानमा उत्रिने छ ।

यसैगरी, दोस्रो क्वार्टरफाइनलमा शुक्रबार राति १२ः४५ बजे दुई युरोपेली पावर हाउस स्पेन र बेल्जियम भिड्ने छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकपको उपाधि उचालेको स्पेन १६ वर्षपछि पहिलोपटक क्वार्टरफाइनल खेल्दैछ । अर्कातर्फ, सन् २०१८ मा चौथो स्थान हासिल गरेको र २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा फर्किएको हो ।

त्यस्तै, शनिबार राति २ः४५ बजे हुने तेस्रो क्वार्टरफाइनल खेलमा नर्वे र सन् १९६६ को च्याम्पियन इङ्ग्‌ल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । २८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै ब्राजिलजस्तो बलियो टोलीलाई हराएर पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको नर्वेले इङ्ग्‌ल्यान्डलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । विश्वकपको इतिहासमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन् । इङ्ग्‌ल्यान्ड भने सन् १९६६ यता विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

अन्तिम तथा चौथो क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच खेल हुने छ । यो खेल आइतबार बिहान ६ः४५ बजे सुरु हुने छ । १९औँ पटक विश्वकप खेलिरहेको र तीनपटक उपाधि जितिसकेको अर्जेन्टिनालाई रोक्न स्विट्जरल्यान्डले कडा कसरत गर्नुपर्ने छ । स्विट्जरल्यान्ड भने सन् १९५४ पछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस