२०८३ भाद्र १० गते बुधवार

तीन महिनामा ३ हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु


दाङ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् ।

यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सबैभन्दा बढी ८९७ आगलागीका घटना भएको र तिनमा १७ जनाको मृत्यु भएको जनाएको छ । १०९ जना घाइते भएका छन् भने ९९० परिवार प्रभावित भएका छन् ।

उक्त अवधिमा सर्पदंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु भएको छ भने ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन् । त्यसैगरी, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको ६८ जना घाइते भएको र एक हजार ३५६ परिवार प्रभावित भएको जनाइएको छ ।

पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् । चट्याङका २ सय २३ घटनामा २४ जनाको मृत्यु भएको छ । १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ । यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन् ।

भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन् । त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको मृत्यु भएको छ ।

तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाइएको छ । हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस