दाङ । तुलसीपुरमा मंगलबार अग्नि नियन्त्रण तथा सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन, तुलसीपुरको आयोजनामा अग्नि नियन्त्रण तथा सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको हो ।
एसोसिएसनका उपाध्यक्ष गोकर्ण गिरीको अध्यक्षता तथा नेपाल आयल निगम तुलसीपुरका कार्यालय प्रमुख विनोद बस्नेतको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
एसोसिएसनका सदस्य चिरञ्जीवी पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल आयल निगम तुलसीपुरका कार्यालय प्रमुख विनोद बस्नेत र वरिष्ठ सहायक नेत्रबहादुर भण्डारीले अग्नि नियन्त्रण तथा सुरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
तालिममा आगलागीबाट बच्न अपनाउनुपर्ने सुरक्षा सावधानी, सरसफाइ, अग्निजन्य सामग्रीको सुरक्षित प्रयोग, मोबाइल फोनको प्रयोग, विद्युतीय वायरिङलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा तुलसीपुर क्षेत्रबाट एसोसिएसनमा आबद्ध डिलरका प्रोप्राइटर तथा कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको कार्यालय प्रमुख रामकुमार चौधरीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव मदनकुमार शर्माले गर्नुभएको हो ।






















