दाङ । आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष २९ जुलाईमा यो दिवस मनाउने गरिएको छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।
तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्दैछ ।
नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ रहेको छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।
पछिल्ला दिनहरूमा संरक्षण क्षेत्रका साथै मध्यवर्ती क्षेत्रमा देखिएको बाघको अवस्था, बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा यस गणनामा बाघको सङ्ख्या थपिने अनुमान गरिएको छ । बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शङ्खलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो ।
नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् ।
त्यस्तै कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि उत्तिकै छ । बाघको सङ्ख्याको वृद्धि भएसँगै यसको आवश्यक सङ्ख्याका बारेमा बहससमेत सुरु भएको छ ।













