२०८३ साउन ३१ गते आइतवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित उपकुलपति कप फुटसल प्रतियोगिता शुरु


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा कार्यरत चिकित्सक, कर्मचारी, विद्यार्थी तथा प्रतिष्ठानसँग आबद्ध विभिन्न पक्षबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता’ शनिबारदेखि सुरु भएको छ ।

प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । घोराहीको भरतपुर रोड नजिकै रहेको पुरानो हाउस फुटसल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी तथा कर्मचारी गरी विभिन्न १० वटा समूहको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख तथा अस्पताल निर्देशक सह–प्राध्यापक डा. सुरेश रसाइलीले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै डा. रसाइलीले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीको व्यस्त कार्यतालिकाबीच खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यसँगै आपसी सम्बन्धलाई समेत थप मजबुत बनाउने बताउनुभयो ।

उहाँले प्रतिष्ठानमा कार्यरत जनशक्तिबीच आपसी परिचय, सहकार्य र टीम भावना अभिवृद्धि गर्न यस्ता खेलकुद गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा सहभागी टोलीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरिरहेका छन् । फुटसल प्रतियोगिताले प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीबीच खेलकुदप्रतिको रुचि बढाउनुका साथै कार्यस्थलमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिता भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान उपकुलपति प्राडा अजयकुमार मिश्रबाट प्रदान गरिनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस