२०८३ भाद्र १० गते बुधवार

रसुवा र नुवाकोटमा भीषण बाढी–पहिरोमा दाङका १० जना सम्पर्कविहीन


दाङ । रसुवा र नुवाकोट जिल्लाका विभिन्न भागमा आएको भीषण बाढी तथा पहिरोका कारण दाङबाट कामको सिलसिलामा पुगेका कम्तीमा १० जना नागरिक सम्पर्कविहीन भएका छन् ।

स्यार्पुबेसी स्वास्थ्य चौकी, टिमुरे तथा फेवा हाइड्रो पावरको सुरुङ लगायतका स्थानमा कार्यरत दाङको तुलसीपुर तथा छिमेकी जिल्ला सल्यान र रोल्पाका नागरिकहरूसँग हालसम्म कुनै सम्पर्क हुन नसकेपछि उहाँहरूको खोजी र उद्धारका लागि परिवार र स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

सम्पर्कविहीन हुनेहरूमा स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवामा कार्यरत दाङको तुलसीपुर उपमहानगरपालिकाका कोपिला केसी र खम्बु बोहोरा वेपत्ता हुनुभएको छ ।

यस्तै मैलुङ हाइड्रो पावर, रसुवामा कार्यरत शिव शङ्कर जोशी, फेवा हाइड्रो पावरको सुरुङ नुवाकोटमा कार्यरत शोभाराम योगी सम्पर्कबिहिन हुनुभएको छ ।

त्यस्तै, टिमुरे हाइड्रो पावर, रसुवामा कार्यरत सल्यान घर भई हाल दाङ तुलसीपुर–९ बस्ने प्रमिला बुढाथोकी, ठेक्कापट्टाको कामका लागि नुवाकोट गएका रोल्पा घर भई तुलसीपुर–६ बस्दै आएका ध्रुव बहादुर बुढामगर पनि सम्पर्कविहीन हुनुभएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँ/दमारगाउँका तीन जना लाल बहादुर रोका, गोपीलाल रोका र नारायण अधिकारी नुवाकोटस्थित फेवा हाइड्रो पावरको सुरुङ क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको छ ।

त्यसैगरी, तुलसीपुर–१९ दोघरे निवासी ४६ वर्षीय पूर्ण बहादुर बस्नेत पनि सम्पर्कमा आउनुभएको छैन् । सम्बन्धित क्षेत्रमा लगातारको पहिरो तथा बाढीका कारण सञ्चार सेवा र यातायात अवरुद्ध हुँदा उद्धार कार्य कठिन भइरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस