२०८३ भाद्र २१ गते आइतवार

टुटफुट भएर संगठन कमजोर भयो भन्ने भ्रममा नपर्नुहोला-महासचिव खड्का

तुलसीपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काले संगठनमा टुटफुट भएर संस्था कमजोर भएको भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ।

आइतबारदेखि सुरु भएको दाङको ७औँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव खड्काले निजी शिक्षालयमा लगानी गर्नेहरूमा फरक–फरक प्रवृत्ति देखिएको बताउनुभयो। उहाँले समस्यासँग जुधेर अघि बढ्ने, संगठनले सबै काम गरिहाल्छ भनेर पर्खिने र बाहिर बसेर संगठनका गतिविधि हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो।

अब संगठनका गतिविधिमा सबै सक्रिय भएर लाग्नुपर्ने भन्दै उहाँले कसैलाई पनि जिम्मेवारीबाट पन्छिने छुट नभएको बताउनुभयो। खड्काले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। लामो समयदेखि आउन नसकेको शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उल्लेख गर्दै उहाँले पाठ्यक्रममा देखिएका केही विषय सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी र सामुदायिक विद्यालयबीच राज्यले विभेद गरेको आरोप लगाउनुभयो। निजी विद्यालयलाई सम्मान गर्नुपर्ने ठाउँमा विभेद गरिएको भन्दै उहाँले त्यसको विरोध गर्नुभयो। निजी शिक्षामा करिब ६ अर्ब रुपैयाँ लगानी भएको दाबी गर्दै अध्यक्ष न्यौपानेले राज्यले ठूलो लगानी भएको क्षेत्रलाई उचित मूल्यांकन र सम्मान गर्नुपर्नेमा उल्टै समस्या थप्ने काम गरेको बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव वलीले समाजप्रति योगदान गर्ने उद्देश्य बोकेको संगठन आफैँभित्र विभाजित भइरहँदा लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो। उहाँले संगठन एकताबद्ध भएर गम्भीरताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। शिक्षामा निजी क्षेत्रको लगानी अत्यधिक रहेको भन्दै नगरप्रवक्ता वलीले राज्यले निजी क्षेत्रको योगदानलाई ध्यान दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख धनबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, अडिटर्स एसोसिएसन दाङका अध्यक्ष ललितबहादुर घर्ती, युवा व्यवसायी बिमल रिजाल र शैक्षिक अभियन्ता हिमालबाबु डाँगीलगायतले निजी क्षेत्रले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, संस्थागत एकता तथा शैक्षिक सुधारका विषयमा धारणा राख्नुभएको थियो।

अधिवेशनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ। सञ्चार क्षेत्रबाट पत्रकार आशिष् केसी, संगठनलाई निरन्तर सहयोग तथा सहजीकरण गर्ने शिक्षक मेघराज घिमिरे र व्यावसायिक सहकार्यमा योगदान पुर्‍याउने चुडामणि अर्याललाई सम्मान गरिएको हो।

जिल्ला अध्यक्ष भोजराज न्यौपानेको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो। यसैबीच, आजै हुने बन्दसत्रबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस