दाङ। राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले स्वच्छ तथा सुरक्षित खानेपानी नागरिकको मौलिक अधिकार भएको बताउनुभएको छ । मानपुर गौरीडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उहाँले खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड दिनुभएको छ ।
उपभोक्ताको मेहनत र लगानीबाट सञ्चालन तथा संरक्षण हुँदै आएका खानेपानी संस्थामाथि विद्युतमा १३ प्रतिशत कर लगाएर जनतालाई थप आर्थिक भार पार्ने काम भएको उहाँको भनाइ छ ।
विद्यमान ऐन तथा कानुनमा खानेपानी उपभोक्ता संस्था खारेजी तथा विघटनसम्बन्धी व्यवस्था राखिनु जनताले आफ्नै पहल र लगानीमा सञ्चालन गरेका संस्थाको अधिकारमाथिको हस्तक्षेप भएको ओलीले बताउनुभयो ।
जनताको सहभागिता र लगानीमा सञ्चालित खानेपानी संस्थाको संरक्षण गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थाका अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा भएको साधारणसभामा सचिव मिनराज ओली र कोषाध्यक्ष कबिराज ओलीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ ।
संस्थाका उपाध्यक्ष कबिराज ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मिनराज ओलीले गर्नुभएको हो ।






















