२०८३ भाद्र २७ गते शनिवार

यूएईलाई हराउँदै नेपाल बन्यो एसीसी प्रिमियर कपको च्याम्पियन


दाङ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । साथै इतिहास दोहोर्‍याउदै एकदिवसीय एशिया कपमा पुग्न सफल भएको छ । एसीसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो ।

यसअघि पहिलो पटक सन् २०२३ को फाइनलमा पनि नेपालले यूएईलाई नै हराएर एसिया कप खेलेको थियो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६९ रनमा समेटियो। यूएईका लागि राहुल चोपराले अविजित १०० रन बनाउनुभयो ।

त्यस्तै, सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ तथा खुजैमा तानवीरले १५ रन बनाउनुभयो । यूएईको छैटौँ विकेटका लागि राहुल चोपरा र सोहेब खानबीच ८७ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो ।

बलिङतर्फ नेपालका करण केसीलेतीन विकेट लिनुभयो । ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान एक/एक विकेट लिएनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ३१४ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गर्नुभयो । उहाँ १०६ बलमा १०२ रन बनाएर आउट हुनुभयो । यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो । अर्का ओपनर अर्जुनकुमालले ४३ रन बनाएर रनआउट हुनुभयो ।

त्यस्तै इशानले पाण्डे १३, रोहित पौडेलले ४०, गुल्सन झाले ५२ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७ र बसीर अहमदले अविजित १५ रन बनाउनुभयो ।

बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिनुभयो । खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १/१ विकेट लिनुभयो । अब एशिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस