दाङ । विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक नायक तथा जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
दुर्घटना, विपद् तथा आकस्मिक अवस्थामा प्राथमिक उपचारको महत्व, अपनाउनुपर्ने सावधानी र तत्काल गर्नुपर्ने उपचारका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको प्राथमिक उपचार समिति संयोजक सुष्मा भण्डारीको अध्यक्षता तथा शाखाका उपसभापति हरिहर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको सहजीकरण युवा सर्कल संयोजक भीमलाल मरासिनीले गर्नुभएको थियो भने स्वागत शशी शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा प्राथमिक उपचारका विषयमा प्रकाश डाँगी, खेमराज विश्वकर्मा र अर्जुन आचार्यले प्रशिक्षण तथा जानकारी दिनुभएको थियो ।
यस्तै, ‘स्मार्ट जीवनशैली’का विषयमा जनस्वास्थ्य अधिकृत विमल केसीले सहभागीहरूलाई जानकारी गराउनुभयो । उहाँले स्वस्थ जीवनशैली, स्वास्थ्यप्रति सचेतना र दैनिक व्यवहारमा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सावधानीका विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञानले आकस्मिक अवस्थामा घाइते तथा बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश सदस्य देबिका नेपाली, जिल्ला सदस्य मदनराज धिताल, विद्यार्थी समुन्नत शर्मा र शिक्षक मधु नेपालीले प्राथमिक उपचारको सिकाई आवश्यक रहेकोमा जोड दिनुभयो ।

























