तुलसीपुर । कुनै समय निजी सवारी साधनको विकल्प सीमित थियो। सार्वजनिक यातायातको आफ्नै समयतालिका, ट्याक्सीको सीमित उपलब्धता र तत्काल यात्राका लागि सवारी खोज्नुपर्ने बाध्यताबीच प्रविधिमा आधारित र आफूले चाहेको स्थानमा बोलाउन सकिने सवारी सेवाको विस्तारले दाङमा यात्राको शैली बदलिँदै गएको छ।
यही बदलिँदो यात्राको आवश्यकता पछ्याउँदै दाङमा पहिलोपटक पठाओको सहकार्यमा ‘दाङ ई-ड्राइभ प्रालि.विधिवत रुपमा सञ्चालनमा आउनेभएकाे छ। अध्यक्ष ऋषिराज लहरे (अरुण)का अनुसार दाङका ११ जना युवाको संयुक्त लगानीमा सुरु भएको ई-ड्राइभले यात्रुलाई छिटो, सहज, आरामदायी र प्रविधिमैत्री सवारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तार गर्ने भएकाे छ ।
यसको औपचारिक उद्घाटन भने हुन बाँकी छ। दुई महिनाअघिदेखि परीक्षण सेवा सञ्चालन गरिरहेको प्रालिले १९ भदाै (शुक्रबार)देखि औपचारिक रूपमा सेवा सुरु गर्दैछ। तुलसीपुरको हात्तीखौवामा केन्द्रीय कार्यालय रहेकाे दाङ ई-ड्राइभले गत असार १८ गतेदेखि परीक्षण सेवा सञ्चालन गरिरहेको छ। कम्पनीले सुरुवाती चरणमा ११ वटा अत्याधुनिक विद्युतीय कार, १० वटा अटो र १० वटा बाइक मार्फत तुलसीपुरबाट सेवा दिइरहेको छ। घोराहीमा समेत तीनवटा सवारीसहित सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ। लमहीबाट पनि सेवा विस्तारको तयारी गरिएको छ।
निजी सवारीको विकल्प बन्दै ई-ड्राइभ
व्यक्तिगत काम, पारिवारिक यात्रा, कार्यालयीय कामकाजदेखि जिल्लाबाहिरको यात्रासम्मका लागि सवारी खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले सेवा सञ्चालनमा ल्याएको हो। विशेषगरी आफूले चाहेको समयमा भनेकै स्थानमा सवारी बोलाउन सकिने भएकाले ई-ड्राइभलाई व्यक्तिगत सवारी साधनको विकल्पका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ।
अध्यक्ष लहरेका अनुसार अहिले ग्राहकलाई सवारीसाधन मात्र पर्याप्त छैन। समयको बचत, सुरक्षा, सुविधा र भरपर्दो सेवा यात्राको प्राथमिकतामा पर्न थालेका छन्। यही बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर ई-ड्राइभ सञ्चालनमा ल्याइएको उहाँ बताउनुहुन्छ।
“ग्राहकलाई छोटो, छिटो र आरामदायी सेवा चाहिएको छ। हामीले सेवा सकेसम्म द्रुत गतिमा उपलब्ध हुने व्यवस्था मिलाएका छौँ,” अध्यक्ष लहरेले भन्नुभयो।कम्पनीले नेपाल सरकारको मापदण्डअनुसार भाडादर निर्धारण गरेको जनाएको छ। व्यक्तिगत कामकाजका लागि सवारी प्रयोग गर्दा कतिपय अवस्थामा आफ्नै गाडीभन्दा ई-ड्राइभको सेवा किफायती पर्ने भएकाले यसको आकर्षण बढ्ने अध्यक्ष लहरेको विश्वास छ।
१० मिनेटमै सवारी, २४ घण्टा सेवा
ई–ड्राइभको अर्को विशेषता अनलाइन तथा अफलाइन दुवै माध्यमबाट सेवा लिन सकिने व्यवस्था हो। ग्राहकले एपमार्फत सवारी अर्डर गर्न सक्नेछन् भने अफलाइन सेवाअन्तर्गत कार्यालयमा फोन सम्पर्क गरेर पनि सवारी माग गर्न सकिनेछ।
कम्पनीका अनुसार सेवा २४ सै घण्टा उपलब्ध हुनेछ। अनलाइन बुकिङ वा टेलिफोनमार्फत सम्पर्क गरेको करिब १० मिनेटभित्र ग्राहकले भनेको स्थानमा सवारी पुर्याउने व्यवस्था मिलाइएको अध्यक्ष लहरेको दाबी छ। सेवा तुलसीपुरमा मात्र सीमित नराखी मागअनुसार जिल्लाका अन्य शहर हुँदै देशका जुनसुकै स्थानसम्म पुग्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
परीक्षणमै बढ्यो ग्राहकको आकर्षण
ई-ड्राइभको औपचारिक शुभारम्भ हुनुभन्दा दुई महिनाअघिदेखि सुरु गरिएको परीक्षण सेवामै ग्राहकको आकर्षण उत्साहजनक देखिएको छ।
अध्यक्ष लहरेका अनुसार यस अवधिमा ई-ड्राइभबाट सेवा लिने ग्राहकमा सबैभन्दा बढी माग नेपालगञ्जतर्फ देखिएको छ। त्यसपछि घोराही, बुटवललगायतका शहरमा पनि ग्राहकको माग उच्च रहेको उहाँ बताउनुहुन्छ।
दाङ ई-ड्राइभमा हालसम्म ७ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले सञ्चालनमा ल्याएका विद्युतीय कारहरू अत्याधुनिक सुविधासहितका रहेको अध्यक्ष लहरेको दाबी छ। प्रालीले सीजी मोटर्सले आयात गरेका ५८ लाख रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय गाडी समेत भित्र्याएको छ। सबै गाडी पूर्ण विद्युतीय (फुल इलेक्ट्रिक) प्रविधिका भएकाले वातावरणमैत्री यात्रालाई समेत कम्पनीले प्राथमिकता दिएको छ। दाङजस्तो तीव्र रूपमा शहरीकरण हुँदै गएको जिल्लामा विद्युतीय सवारीमा आधारित सेवा विस्तार हुनु यातायात क्षेत्रमा नयाँ अभ्याससमेत हो।
कम्पनीले सेवा शुभारम्भसँगै पहिलो चरणमै २० जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जनाएको छ। आगामी दिनमा सेवा विस्तारसँगै रोजगारीका अवसरसमेत बढाउँदै लैजाने कम्पनीको योजना छ। अध्यक्ष लहरेका अनुसार अब ग्राहकले सवारीका लागि घण्टौँ कुर्नुपर्ने अवस्था अन्त्य गर्दै मोबाइलबाटै सवारी खोज्ने युगकोअन्त्य भएको छ ।। ई-ड्राइभ त्यही आवश्यकतालाई दाङको स्थानीय परिवेशअनुसार अघि बढाउने प्रयास हो।
यातायातमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा दाङमा भित्रिएको ई-ड्राइभले यात्राको परम्परागत शैलीलाई कति बदल्न सक्छ भन्ने कुरा आगामी दिनमा देखिनेछ। तर, २४ घण्टा सेवा, एपबाट बुकिङ, १० मिनेटभित्र सवारी उपलब्ध गराउने लक्ष्य, दुर्घटना बीमा र अत्याधुनिक विद्युतीय सवारीसहितको सुरुवातले दाङको यातायात क्षेत्रमा नयाँ विकल्प भने थपिएको छ ।
यस्तो छ भाडादर पुरा विवरण हेर्नुहोस्।























