दाङ । आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । उत्तर अण्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भागमा पुगेको छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । नदी, नाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

























