२०८३ असोज ३ गते शनिवार

हाम्रो पहुँचका विद्यार्थी ८२ वर्षीय चन्द्रबिर वलीको घरमै पुगेर जीवनसंघर्ष बुझे


दाङ । तुलसीपुर–७ झुमरेस्थिति हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीले ८२ वर्षीय चन्द्रबिर वलीको घरमै पुगेर जीवनसंघर्ष बुझेका छन् । कक्षा ८ मा अध्ययनरत विद्यार्थी तुलसीपुर–३ खमारी निवासी ८२ वर्षीय वलीको घरमै पुगेर जीवन संघर्ष बुझेका हुन् ।

शनिबार विद्यार्थीहरू वलीको घरमै पुगेर उहाँसँग प्रत्यक्ष भेटघाट गरेका हुन् । पाठ्यपुस्तकमा पढेको जीवनसंघर्षको कथा प्रत्यक्ष पात्रसँग भेटेर बुझ्न पाउँदा विद्यार्थीले सिकाइ अझ प्रभावकारी बनेको बताएका छन् ।

विद्यार्थीले उहाँको जीवनसंघर्षका बारेमा जानकारी लिनुका साथै खाद्यान्न सहयोगसमेत गरेका छन् । कक्षा ८ को पाठ्यपुस्तकमा वलीको जीवनकथा समेटिएको छ । किताबमा पढेको विषयलाई प्रत्यक्ष रूपमा बुझ्ने र उहाँले भोग्नुभएको संघर्ष तथा सामाजिक योगदानबारे जानकारी लिने उद्देश्यले विद्यार्थी फिल्डमै पुगेका हुन् ।

चन्द्रबिर वली सामान्य व्यक्तिले सहजै गर्न नसक्ने कामका लागि परिचित हुनुहुन्छ । उहाँले ७१ वर्षको उमेरमा करिब ३ किलोमिटर सडक निर्माण गर्नुभएको थियो । उमेर ढल्किसकेको अवस्थामा पनि आफ्नै समुदाय र परिवारको आवश्यकतालाई ध्यानमा राख्दै सडक निर्माणमा जुट्नुभएका वलीको संघर्षको कथा अहिले विद्यार्थीका लागि पाठ बनेको छ ।

वलीको परिवारका ९ जना सदस्य दृष्टिविहीन थिए । परिवारका सदस्यलाई घरबाट बाहिर निस्कन, आवतजावत गर्न तथा दैनिक जीवनका काममा सहज होस् भन्ने उद्देश्यले उहाँले सडक निर्माणको प्रयास थाल्नुभएको थियो । सडक बाटोको अभावमा परिवारका दृष्टिविहीन सदस्यले भोग्नुपरेको कठिनाइ देखेपछि उहाँले आफैं सडक निर्माण गर्ने अठोट लिनुभएको बताइन्छ ।

उमेरले ७१ वर्ष पुगेको अवस्थामा सुरु गरिएको सडक निर्माणको काम सहज थिएन । तर, पारिवारिक आवश्यकता र अरूको सहजताका लागि वलीले कठिनाइको सामना गर्दै सडक निर्माण गर्नुभएको थियो । उहाँले निर्माण गरेको सडक अहिले स्थानीयका लागि आवतजावतको माध्यम बनेको छ । सडक बनेपछि सवारीसाधन सञ्चालनमा समेत सहजता भएको छ ।

विद्यार्थीका लागि यो भेटघाट केवल पाठ्यपुस्तकमा पढेको व्यक्तिलाई भेट्ने अवसर मात्र नभएर संघर्ष, दृढता, सामाजिक जिम्मेवारी र मानवीय सेवाबारे प्रत्यक्ष सिक्ने अवसरसमेत बनेको शिक्षक सन्देश भण्डारीले बताउनुभयो । उहाँले कक्षाकोठामा पढ्दा सामान्य लाग्ने विषयलाई वास्तविक जीवनसँग जोडेर बुझ्न पाउँदा विद्यार्थीले वलीको जीवनबाट नयाँ अनुभव प्राप्त गरेको बताउनुभयो ।

विद्यार्थीहरूले वलीसँग उहाँले सडक निर्माण गर्दाको अवस्था, त्यस क्रममा आइपरेका चुनौती तथा सडक निर्माणपछि भएको परिवर्तनका विषयमा जानकारी लिएका थिए । वलीको जीवनकथा सुनेपछि विद्यार्थीले कठिन परिस्थितिमा पनि इच्छाशक्ति र सामाजिक भावनाका साथ काम गर्न सकिने सन्देश पाएको बताएका छन् ।

विद्यालयले पनि पाठ्यपुस्तकमा समेटिएका विषयलाई व्यवहारिक सिकाइसँग जोड्ने प्रयासस्वरूप विद्यार्थीलाई वलीको घरमै लगेको हो । ८२ वर्षको उमेरमा पनि वलीले आफ्नो जीवनमा गरेको संघर्ष र समाजका लागि पुर्‍याएको योगदान विद्यार्थीका लागि प्रेरणाको विषय बनेको छ ।

विद्यालयले यस्ता व्यवहारिक तथा अनुभवमा आधारित सिकाइलाई निरन्तरता दिँदै स्थानीय समाजमा योगदान पुर्‍याएका व्यक्तिका जीवन र अनुभवलाई विद्यार्थीको शिक्षासँग जोड्ने प्रयास गर्दै आएको विद्यालयका प्रधानाध्यापक शिव पुनले बताउनुभयो । उहाँले शिक्षा भनेको किताब पढेर मात्र नभई समाज र वास्तविक जीवनबाट पनि सिक्ने प्रक्रिया रहेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस