२०८३ कार्तिक १ गते शनिवार

हाम्रो पहुँचले उद्यमी बनाउँदै, मासिक ५० हजार बढी कमाउँछिन् देवा

दाङ । तुलसीपुर–७ पर्सेनीकी देवा केसीका लागि भैँसीको गोठ केवल पशु बाँध्ने ठाउँ होइन, परिवारको भविष्य बनाउने आधार बनेको छ ।

करिब १८ वर्षदेखि व्यावसायिक रूपमा भैँसी तथा बाख्रापालन गर्दै आउनुभएकी केसी अहिले यही व्यवसायबाट मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । उहाँको गोठमा अहिले दुईवटा भैँसी छन् । भैँसीबाट दैनिक करिब १३ लिटर दूध उत्पादन हुन्छ, जुन बिक्री गरेर उहाँले नियमित आम्दानी गर्दै आउनुभएको छ ।

कृषि र पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन उहाँलाई श्रीमान् कृष्णबहादुर केसीको पनि साथ छ । श्रीमान–श्रीमती मिलेर गरेको मेहनतले परिवारको दैनिकी सहज बनेको छ । यही आम्दानीबाट छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्न सहज भएको देवा बताउनुहुन्छ । ‘दुध बिक्रिबाटै छोराछोरीको पढाइदेखि घरखर्चसम्म चलेको छ ।’ उहाँले भन्नुभयो–‘यो सबै सहज हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको कारणले भएको छ, चाहिएको बेलामा कर्जा लिएर व्यवसाय गर्न सहज भयो ।’

करिब १८ वर्षअघि प्युठानबाट दाङ आउँदा अहिलेको जस्तो सहज थिएन । सुरुवाती दिनमा सीमित स्रोत र साधनका बीच पशुपालन सुरु गर्नुभएकी देवाले व्यवसाय विस्तार गर्न पूँजीको अभाव महसुस गर्नुभयो । त्यही बेला उहाँको साथ बन्यो—तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था ।

सहकारीमा करिब १३ वर्षअघि आबद्ध हुनुभएकी देवाले गत वर्ष मात्रै सहकारीबाट १० लाख रुपैयाँ कर्जा लिनुभयो । त्यही कर्जालाई व्यवसाय विस्तारमा लगानी गर्दै उहाँले व्यावसायिक भैँसीपालनलाई थप व्यवस्थित बनाउनुभयो । ‘कर्जा पाएपछि व्यवसाय बढाउन सजिलो भयो ।’ उहाँले भन्नुभयो–‘मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’

भैँसीपालनसँगै बाख्रापालनलाई पनि निरन्तरता दिँदै आउनुभएकी देवाको मासिक आम्दानी अहिले ५० हजार रुपैयाँभन्दा बढी पुगेको छ । नियमित आम्दानी हुन थालेपछि उहाँलाई सहकारीमा मासिक बचत गर्नसमेत सहज भएको छ ।

पशुपालनबाट आम्दानीमात्र होइन, परिवारको सपना पूरा गर्ने बाटो पनि बनेको छ । यही व्यवसायबाट भएको आम्दानीले उहाँले आफ्ना एक छोरालाई जापान पठाउन सफल हुनुभएको छ ।

एक समय पूँजीको अभावमा सीमित रहेको व्यवसाय अहिले परिवारको आयआर्जनको भरपर्दो माध्यम बनेको हो । देवाको मेहनत एउटा परिवारको सफलताको कथा मात्रै होइन । यो मेहनत वित्तीय पहुँच मिलेमा गाउँमै बसेर पनि उद्यम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पनि हो ।

सहकारीबाट लिएको कर्जालाई उत्पादनशील क्षेत्रमा लगानी गरेर व्यवसाय विस्तार गर्नुभएकी देवा अहिले अरूका लागि पनि प्रेरणाको स्रोत बन्नुभएको छ । अवसर खोजेर बाहिर जानैपर्छ भन्ने छैन । सीप, मेहनत र लगानी गर्ने वातावरण पाए आफ्नै ठाउँमा पनि आम्दानीको राम्रो आधार बनाउन सकिन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस