दाङ । तुलसीपुरको बसपार्कदेखि पश्चिम क्षेत्रमा रहेको तरकारी बिक्री केन्द्रमा स्थानीय किसान तथा घरेलु उद्यमीलाई लक्षित गरी सूचना बोर्ड स्थापना गरिएको छ ।
किसानले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणमा सहजता ल्याउने र बजारसम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले निःशुल्क सचेतनामूलक बोर्ड स्थापना गरेको हो ।
महासंघका अध्यक्ष लाल बहादुर केसीले किसानलाई बजारसम्म पहुँच विस्तार तथा कृषि उपजको बिक्री प्रक्रियालाई सहज बनाउने लक्ष्यसहित बोर्ड स्थापना गरिएको बताउनुभयो ।
बोर्डमा स्थानीय उत्पादनको प्रयोग गर्न तथा घरेलु र साना उद्योगलाई प्रोत्साहन गर्न आह्वान गरिएको छ । यसले किसान तथा साना उद्यमीलाई आफ्नो उत्पादन बिक्री गर्ने स्थानबारे जानकारी दिनुका साथै बजारको उपयोग गर्न प्रोत्साहित गर्ने अध्यक्ष केसीले बताउनुभयो ।
कृषि उत्पादन गरे पनि उचित बजारको अभाव, बिक्री गर्ने स्थानबारे जानकारी नहुनु तथा बजार व्यवस्थापनको कमीका कारण किसानले विभिन्न समस्या भोग्दै आएका छन् । यस्तो अवस्थामा तरकारी बिक्री केन्द्रलाई व्यवस्थित बनाउने र किसानलाई आवश्यक सूचना उपलब्ध गराउने कार्यले कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वासका साथ बोर्ड स्थापना गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र वली लगायतको उपस्थितिमा बोर्ड स्थापना गरिएको हो ।
यसैबिच अध्यक्ष केसीका अनुसार दशैँपछि शौचालय निर्माणको काम अघि बढाइनेछ । तरकारी बिक्री गर्न आउने किसान तथा अन्य उपभोक्तालाई आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले शौचालय निर्माण गर्न लागिएको हो ।
महासंघले गत वर्ष तुलसीपुरमा महोत्सव आयोजना गर्दा पनि उक्त स्थानमा शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार अब निर्माण प्रक्रिया अघि बढाउन लागिएको अध्यक्ष केसीले बताउनुभयो ।
शौचालय निर्माण भएपछि तरकारी बिक्री केन्द्रमा आउने किसान, व्यापारी तथा उपभोक्तालाई दैनिक रूपमा सहज हुने अपेक्षा गरिएको छ ।
तरकारी बजार व्यवस्थित गर्न २० लाख बजेट
तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्री केन्द्रलाई व्यवस्थित बनाउन २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । कृषि उपजको बिक्री वितरणलाई व्यवस्थित बनाउँदै किसानलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले बजेटको व्यवस्था गरेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरीले जानकारी दिनुभयो ।

बजार व्यवस्थित भएपछि किसानले आफ्नो उत्पादन बिक्री गर्न सहज वातावरण पाउने, कृषि उपजको किनबेचलाई व्यवस्थित गर्न सहयोग पुग्ने तथा उपभोक्ताले पनि एकै स्थानबाट ताजा तरकारी खरिद गर्न सक्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार तरकारी बिक्री केन्द्रलाई व्यवस्थित बनाउने काम अघि बढाउन अब लगत्तै टेन्डर आह्वान गरिनेछ । टेन्डर प्रक्रिया पूरा भएपछि आवश्यक काम अघि बढ्ने उहाँले बताउनुभयो । अब टेन्डर प्रक्रिया अघि बढेसँगै बजार व्यवस्थापनको कामले गति लिने विश्वास गरिएको छ ।



























