२०८३ कार्तिक ८ गते आइतवार

मंगलबारसम्म धान भित्र्याउन मौसमविद्को आग्रह


दाङ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालमा पनि वर्षा हुन सक्ने सम्भावना देखिएपछि मौसमविद्ले मंगलबारसम्म धान भित्र्याउन आग्रह गरेका छन् ।

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातीय आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्भावित वर्षाले धानबालीमा क्षति पुर्‍याउन सक्ने भएकाले काटिसकेको धान सुरक्षित स्थानमा भित्र्याउन र पाक्न लागेको धानबालीको सुरक्षामा ध्यान दिन आग्रह गरिएको हो ।

मौसमविद्हरूले यो समयमा सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै पाकेको धानबाली नकाट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा पहाडी राजमार्गमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रणालीको अवस्था र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे आज दिउँसो सम्म थप स्पष्ट हुने बताउनुभएको छ ।

मौसमको अवस्था हेरेर तत्कालै बाली काट्न र सुरक्षित ठाउँमा भण्डारण गर्ने व्यवस्था मिलाउन मौसमविद्को आग्रह छ ।

महाशाखाका अनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवातीय आँधीमा परिणत हुने सम्भावना छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

यस प्रणालीको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मौसमको अवस्थाबारे जानकारी लिन र सम्भावित जोखिमबाट बच्न महाशाखाले जारी गर्ने आधिकारिक सूचनालाई नियमित रूपमा हेर्नसमेत अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस