दाङ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारीका साथ रहन भनिएको जानकारी दिनुभयो ।
भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ । चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै भारतका विभिन्न क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ ।
बंगालको खाडीको चक्रवात ‘अर्नब’का कारण सरकारले बिहीबारदेखि शनिबारसम्म नेपालका सुरक्षा अंगलाई हाई अलर्टमा राखेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार पूर्वदेखि पश्चिमसम्म वर्षा र हिमपात बढ्ने, केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने जनाएको छ ।
अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाएको छ भने प्राधिकरणले यात्रु र पदयात्रीलाई उच्च पहाडी क्षेत्रमा नजान आग्रह गरेको छ ।
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कात्तिक १२ गते बिहीबार रातिदेखि भने बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर पर्नेछ । त्यसको संकेत भने आजबाटै देखिन थाल्नेछ ।
चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुने पूर्वानुमान मौसमविदले गरेका छन् । तर अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको तर सतर्क भने रहनुपर्ने विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो ।

























