दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँच दिनदेखि जारी २० औँ वार्षिक साधारणसभा बुधबार सकिएको छ । शनिबारदेखि शुरु भएको २० औँ वार्षिक साधारणसभा बुधबार पाँचौ दिन जनकल्याण माध्यमिक विद्यालय दुधरास एकाइ केन्द्रमा सञ्चालन भएसँगै सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । संस्थाले पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरी व्यवस्थित र क्रमबद्ध रूपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष भण्डारीले आर्थिक वर्ष २०७६/०७७ देखि पहिलो पञ्चवर्षीय रणनीतिक योजना सुरु गरिएको र अहिले दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत काम भइरहेको जानकारी दिनुभयो ।
यस्तै, संस्थाका सचिव जीवराज अधिकारीले आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले संस्थाद्वारा सञ्चालित सबै विभागले गत आर्थिक वर्षमा अधिकांश लक्षित योजना पूरा गरेको जानकारी दिनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा संस्थाले ७० करोड ४२ लाख ९१ हजार २८५ रुपैयाँ बचत गर्न सफल भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ८७ करोड १० लाख ५६ हजार ३०० रुपैयाँ बचत गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक शरद शर्माले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सल्लाहकार सूर्यप्रसाद शर्मा र ढुण्डीराज खनालले मन्तव्य राख्नुभएको थियो ।
दुधरास एकाइ केन्द्रमा सम्पन्न साधारणसभाको अध्यक्षमण्डलको संयोजकमा रामबहादुर वली रहनुभएको थियो । अध्यक्षमण्डलका सदस्यमा रेशमबहादुर रावत र बविता विक रहनुभएको थियो । संस्थाका उपाध्यक्ष ममता बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवराज अधिकारीले गर्नुभएको हो ।

























