तुलसीपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतले नेपालका लागि ऋण सहयोग घोषणा गरेसँगै ऋण नल्याई मुलुक बन्दैन भन्ने कुरा थप पुष्टि भएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले मङ्गलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले नेपालका लागि ऋण सहयोग घोषणा गरेको प्रसङ्ग उल्लेख गर्दै मुलुकले ऋण लिनैपर्ने अवस्था स्पष्ट भएको बताउनुभयो ।
महासचिव पोखरेलले पुराना राजनीतिक दलले मुलुकलाई ऋणमा डुबाएको भन्ने आरोप पनि यसबाट थप पुष्टि भएको दाबी गर्नुभयो ।
उहाँले सरकार सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा सफल देखिए पनि जनताका सरोकार र मुद्दा सम्बोधन गर्न असफल भएको टिप्पणी गर्नुभयो । जनताका वास्तविक समस्या समाधान गर्न सरकारले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।
पोखरेलले पुराना राजनीतिक दलहरूले नयाँ ढङ्गले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न ढिलाइ गरे मुलुकको दीर्घकालीन भविष्य संकटमा पर्न सक्ने बताउनुभयो । लोकतन्त्रका लागि संघर्ष गरेका सबै दलहरू जनताको विश्वास आर्जन गर्ने कुरामा केन्द्रित हुनुपर्ने उहाँले जोड दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलबीच सम्बन्ध राम्रो नभएको तथा अध्यक्षले काम गर्न नसके जिम्मेवारी छोड्नुपर्ने भन्ने अभिव्यक्ति दिएको विषयमा पत्रकारले प्रश्न गरेका थिए ।
जवाफमा पोखरेलले आफू सबैभन्दा बढी खटेर काम गर्ने नेतामध्ये एक भएको दाबी गर्दै सम्बन्ध राम्रो नभएको भन्ने व्याख्या उचित नभएको बताउनुभयो । यस्ता विषयले नेकपा एमालेभित्र समस्या पैदा भएको भन्ने सन्देश दिन खोजिएको उहाँको भनाइ थियो ।
प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले गर्नुभएको थियो ।


























