२०८३ मङ्सिर ९ गते बुधवार

वैचारिक जडता भत्किँदाको आत्मसन्तुष्टि



कुनै न कुनै आयमूलक पेसा,व्यवसाय,इलम,उद्यम र रोजगारीका बाटा समातेर आफू आत्मनिर्भर बन्ने मात्र होइन,अरू थुप्रैलाई समेत रोजगारीको अवसर सिर्जना गर्ने उद्यमी तथा व्यवसायीहरूलाई कुनै बेला शोषक,सामन्त,जाली र पुँजीपति भन्दै निन्दा,गाली,घृणा र अनादर गर्ने राजनीतिक स्कुलिङबाट हामी पनि दीक्षित भयौँ।

त्यसबेला त्यस्ता मान्यताको पक्षपोषण गर्नुलाई नै घनघोर क्रान्तिकारिता ठान्थ्यौँ। आज विगतका ती सोच र व्यवहार सम्झँदा आफैँलाई प्रश्न गर्न मन लाग्छ– आखिर कस्तो वैचारिक भ्रम र जडतामा बाँचेका रहेछौँ हामी ।ंंअरूलाई रोजगारी दिने, उत्पादन बढाउने, पुँजी निर्माण गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने उद्यमशीलतालाई नै शत्रुवत् व्यवहार गर्नु कति ठूलो वैचारिक भूल रहेछ ।

त्यो ढिट,अनावश्यक जिद्दी , रद्दी तथा सिल्ली मानसिकताको सिमेन्टेड पर्खाल समयमै भत्काउन सकिएकोमा आज आफैँप्रति सन्तोष र खुसी लाग्छ।

निश्चय नै सबै उद्योगी–व्यवसायीका सबै काम निर्दोष र प्रश्नभन्दा माथि हुँदैनन्। उनीहरूका व्यावसायिक गतिविधिमा पनि कानुन, पारदर्शिता, श्रमिकको अधिकार र सामाजिक उत्तरदायित्वको प्रश्न उठ्न सक्छ। तर त्यसको समाधान विधिसम्मत नियमन, जवाफदेहिता र कानुनी कारबाही होस लगानीमाथि आक्रमण, सम्पत्ति लुटपाट, चोरी, आगजनी र तोडफोड कदापि होइन।

आज पनि उद्योगी–व्यवसायीमाथि दागा धर्ने, उनीहरूको धनसम्पत्ति लुट्न र नष्ट गर्न तम्सिने, आगजनी तथा तोडफोडमा उत्रिने अराजक र विध्वंसकारी प्रवृत्तिहरू देखिएकै छन्। यस्ता प्रवृत्तिले व्यक्ति विशेषलाई मात्र होइन, समग्र लगानीको वातावरण, रोजगारी र राष्ट्रिय अर्थतन्त्रलाई नै कमजोर बनाउँछन्।
अनेकौँ चुनौती, जोखिम र प्रतिकूलताका बाबजुद स्वदेशमै लगानी गर्ने, उद्योग व्यवसाय विस्तार गर्ने र थप रोजगारी सिर्जना गर्ने तपाईंहरूको अठोट, साहस, उत्साह र उद्यमशीलतालाई हार्दिक सलाम १

अन्त्यमा, आफूले उद्यम गरेर आर्थिक समृद्धिको बाटो समात्नुका साथै थुप्रै परिवारलाई रोजगारी र जीविकोपार्जनको आधार उपलब्ध गराउन योगदान पुर्‍याउनुभएका आदरणीय मीनबहादुर गुरुङ, शेष घले, उपेन्द्र महतो, अजय सुमार्गी, चन्द्र ढकाल र जीवा लामिछाने लगायत सम्पूर्ण उद्यमी तथा व्यवसायीहरूप्रति हार्दिक सम्मान र आदर व्यक्त गर्दछु।

किनकि रोजगारी सिर्जना गर्नु केवल व्यक्तिगत नाफा कमाउनु होइन, अरूको चुलोमा आगो बल्ने आधार तयार गर्नु पनि हो। उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि नै राष्ट्रको समृद्धिका महत्वपूर्ण आधारस्तम्भ हुन्।

अबको क्रान्तिकारिता उद्यमीलाई गाली गर्नुमा होइन, उद्यमशीलताको सम्मान गर्नुमा छ, पुँजी नष्ट गर्नुमा होइन, उत्पादन र रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुमा छ।विचार बदलौँ, दृष्टिकोण बदलौँ, उद्यमशीलताको सम्मान गरौँ

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस