२०८२ फाल्गुन २९ गते शुक्रवार

समाजसेवी उपेन्द्र पौडेलसहितका युवा पातुखोला पुलको सरसफाइमा जुटे


दाङ । तुलसीपुर–सुर्खेत सडकमा पर्छ पातुखोला पुल । पुलमाथि दैनिक हजारौँ सवारी साधन गुड्छन् ।

धेरै पैदलयात्री तुलसीपुर बजारसम्म आउन र तुलसीपुरबाट पश्चिमतर्फ जान पातुखोला पुलमाथि भएर ओहोरदोहोर गर्नुपर्छ ।

पुल बनेको धेरै पनि भएको छैन् । तर पुलमाथि बालुवा र फोहोर थुप्रिदै गएपछि समाजसेवी उपेन्द्र पौडेलसहितका युवाहरुले बुधबार सरसफाई गरेका छन् ।

पुल बनेको लामो समयसम्म पनि संरक्षणमा कसैले चासो नदिएपछि आफुहरु सरसफाई अभियानमा जुटेको समाजसेवी उपेन्द्र पौडेलले बताउनुभयो ।

‘पातुखोला पुल तुुलसीपुर बजारको प्रवेशद्वार हो, तर यसमाथि थुप्रिएको फोहोरले हामीलाई लज्जाबोध भएपछि सरसफाई अभियानमा जुटेका हौँ ।’ उहाँले भन्नुभयो–‘देशले हामीलाई के दियो भन्दा पनि हामीले देशलाई के दिने भन्ने भावना युवाहरुमा जागृत हुनुपर्छ, तबमात्रै देश बन्छ ।’

अभियानमा सरसफाई अभियान्ता निमबहादुर बुढाथोकी, मेघराज केसी, सन्दीप गौतम, सरिता पौडेल, विकास सेन ठकुरी लगायतका युवाले पुलमाथि थुप्रिएको फोहोर सफा गरेका छन् ।

पुलमाथि फोहोर थुप्रिदै जाँदा पानी परेको समयमा पानीको निकास रोकिने गरेको थियो तर अब सहज भएको छ । सहरका साना साना समस्याको दिगो समाधानका लागि निरन्तर लागिरहेको सरसफाई अभियान्त निमबहादुर बुढाथोकीले बताउनुभयो ।

‘म पेशाले व्यवसायी हुँ, तर केहि समय सामाजिक काममा लगाउने गरेको छु ।’ उहाँले भन्नुभयो–‘फोहोर, सडकका खाल्डाजस्ता समस्या साना हुन्छन्, यस्ता समस्या समाधानमा युवाहरु सक्रिय भएका छौँ ।’

अर्का सरसफाई अभियान्ता मेघराज केसीले पातुखोलाको पुलमात्रै नभएर सफा गर्नुपर्ने कुराहरु धेरै रहेको बताउनुभयो ।

‘समाज परिवर्तनमा लागेका उपेन्द्र पौडेल, निमबहादुर बुढाथोकीजस्ता सामाजिक सोच भएका व्यक्तित्वसंग सहकार्य गर्न पाउँदा खुशी छु ।’ उहाँले भन्नुभयो–‘सबैभन्दा पहिला त दिमाग सफा गर्न सक्यौँ भने अरु आफै सफा हुन्छ ।’

यस्तै अर्का अभियान्ता सन्दीप गौतमले सरसफाई अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । समाजसेवी उपेन्द्र पौडेलको कामले आफुलाई पनि सामाजिक काममा लाग्न उत्प्ररणा थपेको अर्का अभियान्ता विकास सेन ठकुरीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस